काठमाडौं- भोली फागुन ७ आईतबार गते सार्बजनिक बिदा छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा सरकारले बिदा दिने गरेको छ ।
नेपाल राजपत्रमा सरकारले फागुन ७ गते प्रजातन्त्र दिवसको अबसरमा बिदा हुने उल्लेख गरेको छ ।
प्रजातन्त्र दिवस
एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा भोली प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा बुधबार काठमाडौंको टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगलाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलन भयो । जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भएको थियो ।
त्यसपछि तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लाहरुमा पनि यो दिवस मनाइँदै आएको छ ।



