हेटौंडा । हेटौंडामा आज दिनभर रङहरुको पर्व फागुपूर्णिमा (होली) को निकै रौनक भयो । सोमबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाउने क्रममा हेटौंडा र मकवानपुरका अरु दश वटै स्थानीय तहमा होली पर्व मनाउनेहरुको चोकचोकमा घुइचो थियो ।
बिशेषगरी हेटौंडाको मेनरोड, स्कुलरोड, कान्तिलोकपथ, संगमचोक, पारिजातपथ, भैरवरोड लगायतका सडकमा होली खेल्नेहरुको समुह ठाउँठाउँमा थियो । बिशेषगरी युवायुवतीले होली पर्व मनाएका छन् । बालबालिका र बृद्धबृद्धाहरुको पनि होलीमा खुसीयाली थियो । मधेशका जिल्लामा भने भोलि मंगलबार मनाइनेछ ।
सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने हेटौंडामा धेरै छन् । हेटौंडाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्ने मानिसहरु दिनभर थिए । यसमा युवाको संख्या उल्लेख्य छ । फागुन शुक्ल पूर्णिमा अर्थात् रङहरूको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै छ । तराईका जिल्लामा भने भोली मात्रै होली मनाइन्छ ।
युवाहरु सेतो रङको टिसर्ट लगाएर अनुहारमा रातो, नीलो, पहेँलो, हरियोलगायतका रङ एक अर्कालाई लगाइदिने र खुशियाली साटासाट गर्ने गर्छन् । काठमाडौंको बसन्तपुर क्षेत्र होली मनाउनेहरु भेला हुने मुख्य क्षेत्र हो ।