काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज पनि चट्याङको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
अहिले बिहान ६ बजे मौसम अलर्ट जारी गर्दै विभागले आगामी २४ घण्टामा पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङको सम्भावना देखिएको जनाएको हो। पहाडी इलाकामा आज हल्का र क्षणिक वर्षाको प्रक्षेपण विभागले गरेको छ।
प्रि-मनसुनको समयमा पश्चिमी र स्थानीय वायु आपसमा ठक्कर खाँदा मेघ गर्जन र चट्याङको जोखिम रहन्छ। अहिले दुवै वायु नेपाली आकाशमा सक्रिय छन्।
अहिले बिहान पहाडी क्षेत्रमा आंशिक बदली छ। बाँकी भेगमा मौसम सफा छ। आज दिउँसो पहाडी भेगमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सफा रहने विभागको प्रक्षेपण छ। यस्तै, पहाडी इलाकामा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।
आज राति पहाडी इलाकामा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने सम्भावना छ।