काठमाडौं: सामूहिक बलात्कार आरोपमा प्रहरीले डडेलधुराबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका-३ का २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड रहेका छन् ।
चारै जना सामूहिक बलात्कारमा संलग्न रहेको पीडित युवतीका ससुराले चार जनाको नाममा किटानी जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार २० वर्षीय युवती पहिलो पटक वैशाख ५ गते स्थानीय नानीगाड र १२ गते बाँझो गोठमा सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ५ गते बलात्कार हुँदा चार जना र त्यसपछि दुई जना संलग्न भएको खुलेको छ।
बलात्कारपछि गर्भ बसेका कारण घटना सार्वजनिक भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । श्रीमान् कामका लागि भारत गएको र परिवारका सदस्यलाई आफूमाथि बलात्कार भयो भनेर युवतीले बताउन नसकेको अवस्था देखिएको उनले बताए । पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको उनले बताए ।
युवती बलात्कारमा परेको घटना भागेश्वर गाउँपालिका–३ मा भदौ ३० गते आयोजित स्वास्थ्य शिविरमा खुलासा भएको थियो । शिविरमा भिडियो एक्सरे गर्ने क्रममा २० वर्षीय युवतीको पाँच महिनाको गर्भ रहेको पाइएको थियो ।
श्रीमान् विदेशमा रहेको युवती पाँच महिनाको गर्भवती रहेको पाइएपछि परिवारका सदस्यले सोही दिन प्रहरी चौकी लामिकाण्डेमा मौखिक उजुरी दिएका थिए । सो उजुरीको अनुसन्धानका क्रममा युवती सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको थियो ।