धनकुटा / तिहार आएसँगै अत्यधिक माग हुने फूल धनकुटाका किसानका बारीमा ढकमक्क भएर फूलेको छ ।
तर किसानलाई हरेक वर्ष झैँ यो वर्ष पनि भारतीय फूल र कृत्रिम फूलको कारण बजार नपाउने हो कि भन्ने चिन्ता रहेको छ ।धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा व्यावसायिक फूल खेती हुने गरेको छ । यति बेला घरैपिच्छे ढकमक्क सयपत्री फुल फुल्दा जोकोहीको पनि मन लोभ्याउने गरेको छ ।
तिहारको बेला किसानले सबैभन्दा बढी प्रयोग हुने सयपत्री, मखमली, गोदावरी लगायत फुलको व्यवसायीक खेती गरेर मनग्ये आम्दानी लिँदै आएका छन् । गत वर्ष फूल खेतीबाट १९ हजार आम्दानी लिएका महालक्ष्मीका किसान नितेश निरौलाले यस वर्ष फुल बिक्रीबाट २ लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य लिएको बताए ।
अझ भारतीय फूल र कृत्रिम फूलको कारण बजार नपाउने चिन्ता पनि किसानलाई छ । धनकुटामा पछिल्लो समय सयपत्री फूलको खेती विस्तार हुँदै गएको भए पनि भारतीय फूल र कृत्रिम फूलले नेपाली किसानलाई समस्या दिने गरेको धनकुटाका किसान गोविन्द श्रेष्ठले बताए ।
धनकुटामा दुई सय भन्दा बढी किसानले न्यूनतम १ रोपनी देखि १० रोपनी क्षेत्रफलमा फुलको खेती गरेका छन् । फूल खेतीले खाली रहेको जग्गाको सदुपयोगसँगै कम लगानीमा बढी आम्दानी हुन थालेको छ ।



