काठमाडौं- जल तथा मौसम विज्ञान विभागले भोलि देशका पश्चिमी क्षेत्रहरु सुदूरपश्चिम र कर्णालीमा केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ।
आज बिहान ६ बजे जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनमा नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख गरिएको छ। बुलेटिनअनुसार आज साँझ पश्चिमका पहाडी क्षेत्रमा आंशिक देखि साधारण बदली रही अन्य क्षेत्रमा मुख्यतया सफा आकाश रहनेछ।
यस्तै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। भोलि बुधबार बिहानीको समयमा पनि सुदूरपश्चिम र कर्णालीमा आंशिक देखि साधारण बदली बनेको हुनेछ भने राती उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपात हुने देखिएको छ।
बिहीबार बिहानी देशका धेरैजसो क्षेत्रमा आंशिक बदली देखिने र पहाडी क्षेत्रहरुमा केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै बिहीबार साँझ उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ।
जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र पर्ने वर्षा तथा हिमपातका कारण पहाडी क्षेत्रहरू लगायत उच्च पहाडी र हिमाली क्षेत्रमा दैनिक जीवनयापन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा यातायात क्षेत्रमा आंशिक असर पर्न सक्ने भएकोले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।