संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा मङ्गलबार रातिको अविरल वर्षाका कारण गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने मजदुर बर्दियाका घोराभिट्टा निवासी ३५ वर्षीय गङ्गाराम थारुको ज्यान गएको छ। यस्तै उक्त पहिरोमा परी मकवानपुरका उमेश कार्की र गोविन्द थारू गम्भीर घाइते भएका छन्।
पहिरो रातको समयमा खसेको र मजदुरहरू निदाइरहेका बेला आएको बताइएको छ। जलविद्युत् आयोजनाले आफ्ना कामदारहरूका लागि निर्माण गरेका १४ वटा बास कोठामध्ये ३ वटा पहिरोले पुरिदिएको छ।
घटनास्थलमा खटिएको प्रहरी र स्थानीयवासीको सहयोगमा पहिराबाट मृतक र घाइतेहरूलाई निकालिएको थियो। घाइतेहरूलाई उपचारका लागि सदरमुकाम खाँदबारी लगिएको छ।
लगातारको वर्षाका कारण संखुवासभा जिल्लाको विभिन्न स्थानमा पहिरो जान थालेको छ। बाटोहरु अवरुद्ध हुनुका साथै घरहरु समेत पहिरोले क्षति पुर्याएको छ। मौसमविद्हरुले अझै केही दिन लगातारको वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
यस्तो प्रकृति विपद्का घटनाहरुमा पर्ने घटनाहरु रोक्न सकिएको छैन। दुई वर्षअघिमात्र संखुवासभाकै दुधकोशी नगरपालिका-९ मा पहिरो गएर १४ जनाले ज्यान गुमाएको घटना छ। विपद् व्यवस्थापन सम्बन्धी कानुन कार्यान्वयनमा कमजोरी रहेको देखिन्छ।