ताप्लेजुङ | ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकको सिसेवा खोलामा आएको बाढीले पुलहरु बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ ।
वर्षासँगै बिहीबार बिहान आएको बाढीले पुल बगाएको हो । सिसेवाले बगाएर ल्याएको ढुङ्गा, माटो र गेग्रेनले तमोर नदीमा समेत ड्याम बनाएको वडाध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिए । पानीको ड्याम बढे तापेथोक बगरमा रहेका प्रहरी चौकी, स्वास्थ्य चौकी र निजी घरमा भने असर पर्नसक्ने वडाध्यक्ष देउप्रसाद बताए ।
तापेथोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुरज सिंजालीकाअनुसार कति पुल बगायो भन्ने अध्ययन भइरहेको छ । खोला पारीको गाउँबाट आउने २५ देखि ३० जना विद्यार्थीलाई पानी नरोकिएसम्म र खोला नघटेसम्म स्कुल नपठाउन अभिभावकलाई आग्रह गरेको सरस्वती माविका प्रधानाध्यापक चन्द्रमणि लिम्बूले बताए ।
यो खोलो तरेर आउने विद्यार्थीले तर्ने उपाय नभएकाले अभिभावक र विद्यार्थीलाई पनि फोन गरेर नपठाउन र नआउन भनेको उनले जानकारी दिए । पाथीभरा मन्दिर छेउबाट बहने खोलामा लेकमा पानीपर्दा पनि बाढी आउने गरेको छ । पानी पर्नेक्रम जारी रहेकाले रोकिएपछि मात्रै यातायात सञ्चालन, विद्यालय नियमितता लगायतका विषयमा छलफल गर्ने वडाध्यक्ष लिम्बूले जानकारी दिए ।