बागमती प्रदेशमकवानपुरमकवानपुरमा पौने तीन करोडको अवैध सामान बरामद

मकवानपुरमा पौने तीन करोडको अवैध सामान बरामद

हेटौँडा | मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा करिब पौने तीन करोड मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सीताराम रिजालको नेतृत्वमा रहेको प्रहरी टोलीले ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू बरामद गरेको छ। साथै, पाँच जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरी टोलीले बिहीबार राति करिब ८ बजेतिर हेटौँडाको थानार्भयाङ स्थित सडक खण्डमा काठमाडौंबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गर्दा उक्त सामान फेला परेको हो। प्रमुख रिजालका अनुसार बसका भारतीय यात्रुहरूलाई ओराली, शंकास्पद व्यक्तिहरू र बस चालक सहित ५ जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा बसको यात्रु बस्ने सिट माथि सिलिङको भागमा बनाइएको फल्स बटममा उक्त सामान फेला परेको थियो।

प्रहरीले बरामद गरेको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू ।

बरामद सामानको मूल्य २ करोड ७१ लाख २१ हजार ७८० रहेको र यो सामान अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको प्रमुख रिजालले जानकारी दिए।

पक्राउ पर्नेहरूमा बस चालक भीमेश्वर नगरपालिकाका सलाम मोक्तान, सहचालक कटारी नगरपालिका ११ का प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका ७ का इन्द्र बहादुर दर्जी, सोही स्थानका सन्तोष भुसाल र बेलारा नगरपालिका १६ का राज कुमार हिमाङ रहेका छन्।

अनुसन्धानको क्रममा खुलेका तथ्य अनुसार उक्त सामान काठमाडौंको बालाजु बसपार्क भन्दा माथि भत्केको पुल नजिकैको रमाइलो डाँडाबाट लोड गरिएको, बसमा फल्स सिलिङ पहिलेदेखि नै रहेको र यो बस नेपाल-दिल्ली चल्ने आधिकारिक बस नभएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img