Monday, April 21, 2025
धर्म/संस्कृतिबन्दीपुरको ऐतिहासिक खड्गदेवी मन्दिर अब दैनिक खुला
spot_img

बन्दीपुरको ऐतिहासिक खड्गदेवी मन्दिर अब दैनिक खुला

तनहुँको बन्दीपुरमा रहेको ऐतिहासिक खड्गदेवी मन्दिर अब दैनिक रूपमा खुला गरिएको छ। बन्दीपुर गाउँपालिका-४ मा अवस्थित यो मन्दिर यसअघि वर्षमा केवल नवरात्रका नौ दिन मात्र खुल्ने गरेकोमा बिहीबारदेखि हरेक दिन खुला गरिने व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जानकारी दिएको छ।

समितिका अध्यक्ष आनन्दमान जोशीका अनुसार लामो समयको प्रयासपछि मन्दिरलाई सबैका लागि खुला गर्ने निर्णय गरिएको हो। करिब ६०० वर्ष पुरानो मानिएको यस मन्दिरमा कामी, मगर र बाहुन गरी तीन जातका पुजारी रहेकाले यसलाई जातीय सहिष्णुताको प्रतीकको रूपमा लिइन्छ।

मन्दिरसँग जोडिएको किंवदन्ती अनुसार, शिवजीले राजा मणिमुकुन्द सेनलाई दिएको तरबारले नागको रूप लिएको र पछि पुनः तरबार बनेर बन्दीपुर डाँडामा खसेको थियो। यसलाई शिवजीको सन्देशस्वरूप खड्गदेवीको रूपमा स्थापना गरिएको मानिन्छ।

यस मन्दिरमा दर्शन गर्दा विशेष आशीर्वाद प्राप्त हुने विश्वास छ। विशेषगरी सेना, प्रहरी र फलामसम्बन्धी काम गर्नेहरूका लागि मन्दिर दर्शन फलदायी हुने मन्दिरका पुजारी भरतमणि भट्टराईले बताएका छन्।

मन्दिर प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेका अनुसार मन्दिर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहनेछ। मन्दिरमा रहेको गहनामा विसं १८७६ को मिति अङ्कित छ, जबकि विसं १९१६ मा यहाँ एक गुठीको स्थापना गरिएको थियो।

हरेक दशैँको फूलपातीका दिन यहाँ विशेष मेला लाग्छ र मन्दिरको खड्गलाई शोभायात्रासहित बजार परिक्रमा गराइन्छ। पहिले ढुङ्गाबाट निर्माण गरिएको यो मन्दिर पछि राजा चन्द्र शमशेरको पालामा दरबार शैलीमा रूपान्तरण गरिएको थियो। हाल यसमा तामाको छाना रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img