काठमाडौँ | भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक भद्रकाली मन्दिर परिसरको पुनःनिर्माण कार्य सुरु भएको छ। रु ३४ करोड ८० लाख ७१ हजारको लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण शुरु गरिएको हो।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बिहीबार मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गरिन्। विसं २०७२ को भूकम्पले क्षति पुर्याएको यो मन्दिर लामो समयसम्म जीर्ण अवस्थामा रहेको थियो।
परम्परागत नेवारी शैलीमा निर्माण हुने यस मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल र थाम हुनेछन्। छानो झिँगटीको हुनेछ। उत्तरतर्फ दुई वटा र दक्षिणतर्फ तीन वटा ब्लक आपसमा जोडिने छन्। पुनःनिर्माण हुने भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ।
काठमाडौँ महानगरपालिकाले तुल्सी अम्बुजा जेभीलाई पुनःनिर्माणको ठेक्का दिएको छ। निर्माण कार्य गत असार ३ गतेदेखि सुरु भएको हो। पुरातत्व विभागले मन्दिर क्षेत्रका संरचना, शिल्प र शैलीको अभिलेखन गर्नेछ।
उपप्रमुख डङ्गोलले भद्रकाली मन्दिर सबै श्रद्धालुहरुको आस्थाको केन्द्र भएको उल्लेख गर्दै यसको प्राचीनता संरक्षण गर्नुपर्ने बताइन्। स्थानीय वडा अध्यक्षहरूले भद्रकाली धार्मिक आस्थासँग जोडिएको पीठका रूपमा चिनिएको स्मारक भएको उल्लेख गरे।
यो पुनःनिर्माण परियोजनाले भद्रकाली मन्दिरको ऐतिहासिक र सांस्कृतिक महत्व कायम राख्दै यसलाई नयाँ जीवन दिने अपेक्षा गरिएको छ।