Friday, October 4, 2024
कोशी प्रदेशइटहरीइटहरी यातायातबाट पहिलोपटक अस्थायी सवारी लाइसेन्स वितरण

इटहरी यातायातबाट पहिलोपटक अस्थायी सवारी लाइसेन्स वितरण

इटहरी | कोशी प्रदेशमा अब ट्रायल पास गरेपछि तुरुन्तै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाइने भएको छ। प्रदेशबाट पहिलो पटक बुधबार अस्थायी लाइसेन्स वितरण सुरु गरिएको हो।

तीन वर्षसम्म स्मार्ट लाइसेन्सको प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले अस्थायी लाइसेन्स वितरणको सुरुवात गरेको हो। इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री हिक्मत कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले औपचारिक रूपमा अस्थायी लाइसेन्स वितरणको उद्घाटन गरे।

मुख्यमन्त्री कार्कीले प्रदेशका नागरिकको सुविधालाई प्राथमिकता दिँदै ट्रायल पास भएलगत्तै लाइसेन्स दिने व्यवस्था सुरु भएको बताए। साथै, उनले पासपोर्टजस्तै सवारी चालक अनुमतिपत्रलाई पनि वर्गीकरण गर्दै केही शुल्क बढाएर दिने व्यवस्था मिलाइने जानकारी दिए।

आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले यातायात व्यवस्था विभागले अस्थायी लाइसेन्स वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रशंसा गरे। उनले प्रदेशमा चाँडै नै स्मार्ट लाइसेन्सको छपाई समेत सुरु गर्ने तयारी भइरहेको जानकारी गराए।

गत साउन ३२ गते सातै प्रदेशका यातायात मन्त्रीहरूको संयुक्त बैठकले स्थायी सवारी चालक अनुमतिपत्र प्रदेशबाटै छाप्ने निर्णय गरेको थियो। स्थायी कार्ड छपाईको व्यवस्था नभएसम्म क्यूआर कोडसहितको अस्थायी कार्ड वितरण गर्ने सहमति पनि बैठकमा भएको थियो। यसै अनुसार कोशी प्रदेशले पहिलोपटक अस्थायी लाइसेन्स वितरण थालेको हो।

कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने सात वटा यातायात व्यवस्था सेवा कार्यालयहरू रहेका छन्। ती सबै कार्यालयबाट अब अस्थायी लाइसेन्स प्राप्त गर्न सकिनेछ, जसको मान्यता एक वर्षको हुनेछ। एक वर्षभित्रै स्थायी स्मार्ट लाइसेन्सको छपाई पनि प्रदेशमै सुरु गर्ने तयारी भइरहेको छ।

हाल कोशी प्रदेशबाट नयाँ, थप, र प्रतिलिपि गरी मासिक १८ हजार सवारी चालक अनुमतिपत्रका लागि निवेदन आउने गरेको छ। तर, यातायात व्यवस्था विभागले स्थायी (स्मार्ट) कार्ड छपाईमा ढिलाइ गरेकाले सेवाग्राहीहरू रसिद बोकेर हिँड्न बाध्य थिए। अब प्रदेशबाटै एकै दिनमा अस्थायी लाइसेन्स पाउने व्यवस्था सुरु भएसँगै सेवाग्राहीहरूको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img