कृषीमकवानपुरमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम

मकवानपुरमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम

हेटौंडा | मकवानपुरमा ‘एक वडा एक उत्पादन’ कार्यक्रमको सुरुवातसँगै स्थानीय कृषिमा नयाँ क्रान्ति ल्याउने प्रयास गरिएको छ। २०८१ असोज १६ गते हेटौंडामा आयोजित एक सार्वजनिक कार्यक्रममा कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेल र योजना अधिकृत निर्मल पौडेलले प्रस्तुत गरेका योजनाहरूले यस क्षेत्रको कृषि उत्पादनलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको छ।

‘एक वडा एक उत्पादन’ कार्यक्रम अन्तर्गत, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ लाई मेवा उत्पादनको लागि छनोट गरिएको छ भने भिमफेदी गाउँपालिकाको वडा नम्बर ५ लाई किवी खेती र इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ४ लाई तरकारी उत्पादनको लागि चयन गरिएको छ। यो कार्यक्रमले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै कृषकहरूको आयमा वृद्धि गर्ने उद्देश्य राखेको छ ।

यस कार्यक्रमले विशेष गरी बाँझो जमिनलाई कृषि उत्पादनको लागि उपयोग गर्ने, साना सिँचाइ योजनाहरू मार्फत सिंचाइको सुविधा उपलब्ध गराउने र कृषकहरूलाई आधुनिक प्रविधिको प्रयोग गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ। यसै क्रममा, सामुहिक खेतीलाई पनि प्रवर्द्धन गरिनेछ, जसले कृषकहरूको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नेछ ।

कृषि विकास कार्यालय चितवनले यस आर्थिक वर्षमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। प्रमुख झलकनाथ कंडेलले २०८०/८१ मा सञ्चालन भएका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्दै मकवानपुर जिल्लाको कृषि उत्पादन, सिँचाइ सुविधा, र अनुदानित मलको आपूर्तिलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका थिए । मकवानपुरको कुल क्षेत्रफल २ लाख ४२ हजार ६०० हेक्टरमा १७.०४ प्रतिशत जमिन खेतीयोग्य छ भने ३२.२८ प्रतिशत जमिनमा सिँचाइ सुविधा छ ।

कृषि विकास कार्यालयले प्रमुख खाद्यान्न बाली धान, मकै, गहुँ, र कोदो उत्पादनमा ध्यान दिएको छ। मकवानपुरमा ३९ हजार ५१३ हेक्टर जमिनमा खेती गरी १ लाख १७ हजार ९५१ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ। खाद्यान्नको आवश्यकतामा २५ हजार ५५६.३९  मेट्रिक टनको कमी रहेको भए तापनि, कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ।

आगामी योजनामा,  साना सिँचाइ योजनाहरूलाई प्राथमिकता दिँदै यस वर्ष ३० वटा साना सिंचाइ परियोजनाहरू सञ्चालन गरिनेछन्, जसले कृषकहरूलाई सिंचित जमिनमा उत्पादन वृद्धि गर्न मद्दत पुर्‍याउनेछ। सिँचाइ सुविधाबाट ३०० हेक्टर जमिनमा सिंचित क्षेत्रफल विस्तार गरिनेछ, जसले स्थानीय कृषकहरूको उत्पादन वृद्धि गर्न योगदान गर्नेछ ।

त्यसैगरी, १०० मेट्रिक टन प्राङ्गारिक मल वितरण गरिनेछ, जसले माटोको उर्वराशक्ति सुधार्न र उत्पादनमा वृद्धि गर्न सघाउनेछ। यस कार्यक्रमबाट प्रत्यक्ष रूपमा २०० कृषक घरधुरी लाभान्वित हुने अनुमान गरिएको छ  ।

कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रममा विशेष ध्यान दिइएको छ। यस अन्तर्गत विभिन्न आधुनिक कृषि उपकरणहरू जस्तै मिनि टिलर, धान थ्रेसर, मकै छोडाउने मेसिन, र स्प्रेयर वितरण गरिनेछ। यस कदमले कृषकहरूको कृषि कार्यमा दक्षता र समयको बचत गराउने विश्वास गरिएको छ ।

तरकारी र फूल खेतीलाई व्यवसायिक बनाउनका लागि ४० हेक्टर क्षेत्रमा व्यवसायिक तरकारी खेती प्रवर्द्धन गरिने योजना छ। साथै, पुष्प व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको व्यवसायिक उत्पादनलाई प्राथमिकता दिइनेछ, जसले फूलको व्यवसायलाई वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

यस आर्थिक वर्षमा स्मार्ट एग्रिकल्चर प्रविधि प्रवर्द्धन कार्यक्रमको पनि शुरुवात गरिनेछ, जसले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै कृषकहरूलाई उच्च उत्पादन प्रविधिमा पहुँच पुर्‍याउनेछ। यस कार्यक्रमले कृषि उत्पादनको गुणस्तर र मात्रा दुबैमा सुधार ल्याउने विश्वास गरिएको छ ।

मकवानपुरको ‘एक वडा एक उत्पादन’ कार्यक्रम, साना सिँचाइ योजनाहरू, प्राङ्गारिक मल वितरण, र कृषि यान्त्रिकरण प्रवर्द्धनले स्थानीय कृषि क्षेत्रलाई सबल बनाउन उल्लेखनीय योगदान पुर्‍याउनेछ। कृषकहरूको आय वृद्धि र उत्पादनको विविधताका लागि यी कार्यक्रमहरू महत्वपूर्ण साबित हुनेछन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img