हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा स्कार्पियो दुर्घटना हुँदा एकै परिवारका चार जना घाइते भएका छन्। पुर्व–पश्चिम राजमार्गमा बाराको निजगढबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च ६८६२ नम्बरको स्कार्पियो आफैँ अनियन्त्रित भई सडक किनारको विद्युत पोलमा ठोक्किएपछि करिब ५० मिटर तल खसेको हो।
घटनामा बारा निजगढ नगरपालिका–७ निवासी चालक ४५ वर्षीय धनबहादुर स्याङतान, उनकी श्रीमती ३८ वर्षीय हरिमायाँ लामा, छोरा १३ वर्षीय यरोश तामाङ, र सोही स्थानका ३३ वर्षीय सबु लामा घाइते भएका छन्।
मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार घाइतेहरूको प्रारम्भिक उपचार मनहरी अस्पतालमा गरिएको छ भने थप उपचारका लागि भरतपुर पठाइएको छ।
दुर्घटनाको कारण भने स्कार्पियोको गति अनियन्त्रित हुनु भएको प्रहरीको प्रारम्भिक अनुमान छ। स्थानीयबासी र प्रहरीले उद्धारमा सहकार्य गरेका थिए।