Saturday, January 18, 2025
समाजरानाभाटको नेतृत्वमा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य संघ

रानाभाटको नेतृत्वमा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य संघ

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन परिणाम

हेटौँडा |मकवानपुर उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनपछि प्रमोद सिंह रानाभाटले संघको नेतृत्वमा पुगेका छन् । अध्यक्ष पदमा रानाभाटले १ हजार १४ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी अनिल अग्रवाललाई २ सय ४९ मतको अन्तरले पराजित गरेका छन्। यससँगै, उनी संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

महासचिव पदमा प्रतिमा श्रेष्ठ १ हजार १२ मतसहित विजयी भइन्। उनले २ सय ९९ मतको अन्तरले बिकेशलाल श्रेष्ठलाई पराजित गरिन्। कोषाध्यक्ष पदमा तेजराज अधिकारी ९ सय १७ मत प्राप्त गरी विजयी भए, भने उनका प्रतिस्पर्धी श्रीकृष्ण कर्माचार्यले ८ सय १ मत प्राप्त गरे। सह-कोषाध्यक्ष पदमा निलम वैद्यले ९ सय १६ मत ल्याएर राधिका सामरी पाण्डेलाई १ सय ३५ मतले हराइन्। निर्वाचित कोषाध्यक्ष अधिकारी अग्रवाल प्यानलका उम्मेदवार हुन्, जबकि बाँकी रानाभाट प्यानलका उम्मेदवार हुन्।

उद्योग र वाणिज्यतर्फ

उद्योग उपाध्यक्ष पदमा दीपक उप्रेती २ सय ७२ मतसहित विजयी भए, भने उनका प्रतिस्पर्धी रविन्द्र प्रसाद घिमिरेले २ सय ४० मत प्राप्त गरे। सदस्य पदमा कृष्ण गोपाल महर्जन, जगदिश दहाल र भुपेन्द्र प्रसाद अधिकारी विजयी भए। महर्जनले २ सय ८८, दहालले २ सय ७३ र अधिकारीले ३ सय ७ मत प्राप्त गरे। महिला सदस्य पदमा सीता देवी भेटवाल २ सय ९५ मत ल्याएर मेनुका श्रेष्ठलाई ७० मतले हराइन्। उद्योगतर्फ उपाध्यक्ष दीपक उप्रेती, सदस्य भुपेन्द्र प्रसाद अधिकारी, जगदिश दहाल र सीतादेवी भेटवाल रानाभाट प्यानलबाट विजयी भएका छन्, जबकि कृष्ण गोपाल महर्जन अग्रवाल प्यानलबाट विजयी भएका हुन्।

वाणिज्यतर्फ उपाध्यक्ष पदमा राजु अधिकारी ५ सय ९९ मतसहित विजयी भए, भने उनका प्रतिद्वन्द्वी रामप्रसाद न्यौपानेले ४ सय ८४ मत प्राप्त गरे। सचिव पदमा कुलप्रसाद चौलागाईंले ६ सय ८४ मत ल्याएर दिवस पराजुलीलाई २ सय ७३ मतको अन्तरले हराए। वाणिज्य सचिवमा विजयी कुलप्रसाद, सदस्यमा विजयी सन्तोष र राजेन्द्र रानाभाट प्यानलका उम्मेदवार हुन्, जबकि सदस्य पदका निर्वाचित बालकृष्ण र विष्णुप्रसाद अग्रवाल प्यानलका उम्मेदवार हुन्।

एसोसिएट र वस्तुगततर्फ

एसोसिएट उपाध्यक्ष पदमा उज्ज्वल चौलागाई ४८ मतसहित निर्वाचित भए। उनले ३३ मत प्राप्त गरेका विष्णु खनाललाई हराउँदै उपाध्यक्ष पद जिते। एसोसिएट सदस्यमा नवराज खतिवडा ६४ मत र अंकिता सुमार्गी ५४ मतसहित विजयी भए ।

वस्तुगत उपाध्यक्ष पदमा काव्यमणि अधिकारी १५ मतसहित निर्वाचित भए। उनले ११ मत प्राप्त गरेका प्रदीप अर्याललाई पराजित गरे। वस्तुगततर्फ २६ मत खसेको थियो। वस्तुगत सचिव पदमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्की बीच १३–१३ मतसहित बराबरी भएको छ। सदस्य पदमा शम्भु पुडासैनी १२ मतसहित विजयी भएका छन्, जबकि कृष्ण अर्याल ११ मत र गोविन्द चौलागाई ३ मतसहित पराजित भएका छन्। निर्वाचित उपाध्यक्ष काव्यमणि अधिकारी र सदस्य शम्भु पुडासैनी अनिल अग्रवाल प्यानलका उम्मेदवार हुन् जबकि बाँकी रानाभाट प्यानलका उम्मेदवार हुन्।

प्रमोद सिंह रानाभाटको नेतृत्व यात्रा

प्रमोद सिंह रानाभाट मकवानपुरको व्यवसायिक समुदायमा लामो समयदेखि सक्रिय छन्। अटो इन्जिनियरिङ, यातायात, र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएका रानाभाटले आफ्नो तीन पुस्ताको व्यवसायिक परम्परालाई सफलतापूर्वक अघि बढाउँदै आएका छन्। मकवानपुर उद्योग वाणिज्य संघमा उनको संलग्नता २०६८ सालमा सदस्यका रूपमा सुरु भएको हो। त्यसयता, उनले कोषाध्यक्ष, महासचिव, र उपाध्यक्ष पदमा रहेर संघमा योगदान पुर्‍याएका छन्।

बैंकहरूको चर्को ब्याजदरविरुद्धको आन्दोलनमा उनको सक्रियता र नेतृत्व क्षमतालाई व्यवसायिक समुदायले निकै सराहना गरेको छ। यही प्रतिबद्धता र दृढताले उनलाई संघको अध्यक्ष पदमा पुर्‍याएको उनले बताउँछन्।

निर्वाचन परिणामपछि रानाभाटले यो जितलाई व्यवसायीहरूको जितका रूपमा अर्थ्याएका छन्। उनले भने, “हाम्रो यो जित मकवानपुरका सम्पूर्ण व्यवसायीको विश्वास र समर्थनको प्रमाण हो। हामी यो अवसरलाई संघको गरिमा बढाउन र व्यवसायीहरूको हितमा काम गर्न उपयोग गर्नेछौं।”

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img