हेटौँडा | लायन्स क्लब अफ हेटौंडा स्मारकले कैलाश गाउँपालिका–७ स्थित कोथलिटार आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३४ जना विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरेको छ। आइतबार आयोजित एक कार्यक्रममार्फत लायन्स क्लबले जाडोबाट बालबालिकालाई सुरक्षित गराउन र विद्यालयमा नियमित उपस्थिति प्रोत्साहन गर्न न्यानो कपडा वितरण गरेको हो।
लायन्स क्लबको वार्षिक कार्यक्रम अन्तर्गत गरिएको यो सहयोगले विपन्न चेपाङ समुदायका विद्यार्थीलाई राहत पुर्याउने उद्देश्य राखेको क्लबका अध्यक्ष अन्जनप्रसाद पौडेलले बताए। कार्यक्रममा लायन्स क्लबका सदस्य कमल अधिकारीको संयोजकत्वमा स्वीटर वितरण गरिएको थियो।
कार्यक्रममा लायन्स क्लबका डिस्ट्रीक्ट को–चिफ एड्भाइजर प्रलाद मिश्र प्रमुख अतिथि रहेका थिए। मिश्रले लायन्स क्लबले सामाजिक सहयोगमा पुर्याएको योगदानको प्रशंसा गर्दै यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे।
सदरमुकाम हेटौंडाबाट दुर्गम मानिने विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा सुधार ल्याउन सहयोग गर्ने उद्देश्यले सबै विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरिएको क्लबले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र अभिभावकहरूको उपस्थिति रहेको थियो।