Friday, July 18, 2025
समाजफार्मेसी सुधारपछि अस्पतालमै औषधी, बिरामीलाई बाहिर धाउनुपर्ने झन्झट समाप्त

फार्मेसी सुधारपछि अस्पतालमै औषधी, बिरामीलाई बाहिर धाउनुपर्ने झन्झट समाप्त

spot_img

नेपालगन्ज | नेपालगन्जस्थित भेरी अस्पतालको फार्मेसी सुधारका लागि अस्पताल प्रशासनले ठोस कदम चालेपछि उल्लेखनीय परिवर्तन देखिन थालेको छ। फार्मेसीको अव्यवस्थित व्यवस्थापनका कारण अस्पतालले आम्दानी गुमाउनुका साथै बिरामीहरूलाई पनि सुलभ रूपमा औषधी पाउन कठिनाइ हुँदै आएको थियो । तर, पछिल्लो दुई महिनायता फार्मेसीको अवस्था सुधारिएपछि बिरामीहरूले सहज रूपमा औषधी प्राप्त गर्न थालेका छन् भने अस्पतालको आम्दानी समेत दोब्बरले वृद्धि भएको छ।

भेरी अस्पतालको फार्मेसीमा आवश्यक औषधीको अभाव हुँदा बिरामीहरूलाई निजी मेडिकलहरूबाट महँगो मूल्यमा औषधी खरिद गर्न बाध्य हुनुपर्थ्यो। अस्पतालमा आवश्यक औषधी नपाएपछि बिरामी र तिनका आफन्तहरू निजी मेडिकलमा भर पर्नु परेको थियो, जसका कारण औषधी खरिद गर्दा आर्थिक भार पनि बढ्ने गरेको थियो।

- Advertisement -

कतिपय बिरामीका आफन्तहरू अस्पतालले आफैं आवश्यक औषधी उपलब्ध नगराउनुको पछाडि फार्मेसीमा कार्यरत केही कर्मचारीको लापरवाही र सेटिङ रहेको गुनासो गर्थे। “अस्पतालको फार्मेसीमा आवश्यक औषधी उपलब्ध गराउने दायित्व पूरा नभएपछि निजी मेडिकलहरूले मनपरी मूल्यमा औषधी बिक्री गर्दै आएका थिए,” एक सेवाग्राहीले भने।

भेरी अस्पताल प्रशासनले यी समस्याहरूलाई समाधान गर्न पछिल्लो दुई महिनायता विशेष रणनीति अपनाएको छ। फार्मेसीमा आवश्यक औषधीहरूको पर्याप्त आपूर्ति गराउनेदेखि कर्मचारीको जिम्मेवारी पुनः निर्धारण गर्ने निर्णय गर्यो । अस्पताल प्रशासनले फार्मेसीमा कार्यरत कर्मचारीहरूको भूमिकामा फेरबदल गर्दै व्यवस्थापनलाई थप प्रभावकारी बनाएको जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार, फार्मेसी सुधारको लागि विभिन्न रणनीतिक कदमहरू उठाइएका छन्। “हामीले फार्मेसीको व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएका छौं। यसले गर्दा बिरामीहरूले सहज रूपमा औषधी प्राप्त गर्न थालेका छन् भने अस्पतालको आम्दानी समेत दोब्बर भएको छ,” उनले भने।

आम्दानीमा दोब्बर वृद्धि

फार्मेसी सुधारका कारण अस्पतालको आम्दानी उल्लेखनीय रूपमा बढेको छ। अस्पताल प्रशासनका अनुसार, फार्मेसी सुधार हुनुअघि औषधी बिक्रीबाट मासिक ७० देखि ८० लाख रुपैयाँ मात्र आम्दानी भइरहेको थियो। सुधारपछि, मंसिर महिनामा १ करोड ६० लाख रुपैयाँको औषधी बिक्री भयो भने पुस महिनामा १ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ।

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले फार्मेसी सुधारपछि अस्पताललाई आर्थिक रूपमा पनि ठूलो फाइदा पुगेको बताए। “पहिले बिरामीहरूले फार्मेसीमा खोजेको औषधी भेट्न सक्दैनथे। अहिले भने फार्मेसीमा अधिकांश आवश्यक औषधी सहज रूपमा उपलब्ध छन्। यसले गर्दा बिरामीहरू बाहिरको मेडिकलमा जानुपर्ने बाध्यता हटेको छ,” शाहले भने।

फार्मेसी सुधारको एक हिस्सा स्वरूप बिरामीहरूका लागि थप सुविधाहरू पनि प्रदान गरिएको छ। बिरामीहरूलाई सहज रूपमा औषधी लिन मद्दत गर्न बस्ने बेन्चको व्यवस्था गरिएको छ। यसअघि फार्मेसीमा लामो लाइन लाग्नुपर्ने समस्या थियो, तर अहिले पालो अनुसार बेन्चमा बसेर नै औषधी प्राप्त गर्न सकिन्छ।

भेरी अस्पताल प्रशासनले आगामी दिनमा फार्मेसीलाई अझ व्यवस्थित बनाउने योजना बनाइरहेको छ। फार्मेसीमा रहेका औषधीहरूको आपूर्ति निरन्तर सुनिश्चित गर्दै गुणस्तरीय औषधीको उपलब्धता बढाउने अस्पतालको योजना छ।

“फार्मेसीमा सुधार आएपछि बिरामीहरूले ठूलो राहत महशुस गरेका छन्। हामी अझ राम्रो सेवा दिन निरन्तर लागिपर्नेछौं,” डा. सुवेदीले थपे।

नेपालगन्जस्थित भेरी अस्पतालको फार्मेसी सुधारले अस्पताललाई मात्र होइन, बिरामीहरूलाई पनि प्रत्यक्ष लाभ पुर्‍याएको छ। अब बिरामीहरू सहज रूपमा आवश्यक औषधी प्राप्त गर्न सक्छन्, र अस्पतालले पनि आफ्नो आर्थिक स्थिति सुधार गर्न सफल भएको छ। आगामी दिनमा यो सुधारलाई अझ मजबुत बनाइए बिरामीहरूका लागि झन् सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास गर्न सकिन्छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img