Wednesday, February 12, 2025
समाजरक्सी ठानेर पेट्रोल खन्याइन्, त्यसपछि सुरु भयो एकपछि अर्को घटना

रक्सी ठानेर पेट्रोल खन्याइन्, त्यसपछि सुरु भयो एकपछि अर्को घटना

ओखलढुंगा | कहिलेकाहीं एउटा सानो गल्तीले ज्यानै लिन सक्छ। खोटाङको केपिलासगढी गाउँपालिका-३ बास्पानीकी ५६ वर्षीया मायादेवी गुरुङले यो कहिल्यै सोचेकी थिइनन् होला। जेठाजुको काजकिरिया चलिरहेको थियो, पिठो पिस्ने काम सकिएपछि आफन्तहरू बसेर मदिरा पिउने सल्लाह भयो। त्यो सामान्य दिन अचानक कालो दिन बन्न पुग्यो।

रक्सीको सट्टा पेट्रोल, एक्कासी दन्कियो आगो

मायादेवीलाई रक्सी तताउने जिम्मा दिइयो। चुल्हो नजिकै दुईवटा बोतल थिए— एउटामा रक्सी, अर्कोमा पेट्रोल। तर, उनले गलत बोतल उठाइन्। रक्सी सोचेर कराइमा खन्याएको बोतल पेट्रोल पो परेछ।

एक्कासी आगो दन्कियो। मायादेवीको शरीरमा आगो सल्कियो। त्यो क्षणमा सबै अक्क न बक्क भए। उनलाई तत्कालै जिल्ला अस्पताल दिक्तेल पुर्‍याइयो। तर, त्यहाँ उपचार सम्भव भएन।

डाक्टरले उनलाई काठमाडौं रेफर गरे। परिवार र आफन्तहरूबीच छलफल भयो, जीप रिजर्भ गरेर उनलाई काठमाडौं लैजाने निर्णय गरियो।

मायादेवी, छोरा र बहिनीको अन्तिम यात्रा

ना १ ज ६४२१ नम्बरको जीप राति नै खोटाङबाट काठमाडौं हिँड्यो। मायादेवीसँगै उनका २८ वर्षीय छोरा पुजन गुरुङ र ४५ वर्षीया बहिनी तारा गुरुङ पनि थिए। तारा दिदीको उपचारका लागि साथ दिन आएकी थिइन्। तर, यात्रा पूरा हुन पाएन। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा जीप दुर्घटना भयो।

तीनै जनाको घटनास्थलमै ज्यान गयो।

एकैसाथ श्रीमती र छोराको मृत्यु, शेरबहादुर शोकमा अचेत

मायादेवीका श्रीमान् शेरबहादुर गुरुङका लागि यो दुःस्वप्नभन्दा कम थिएन। वडाध्यक्ष तुलाराम राईका अनुसार शेरबहादुर अहिले अचेत जस्तै छन्। आफन्तहरूले उनलाई पानी छम्केर सम्झाउने प्रयास गरिरहेका छन्।

श्रीमती र जवान छोरा गुमाएका शेरबहादुरका अर्का छोरा सुजन पनि शारीरिक रूपमा अशक्त छन्। दुःख थपिएको छ। उनका दुई छोरी भाबना र बबिता छन्। एउटीको विवाह भइसकेको छ, अर्कीको बाँकी छ।

बाँच्न सफल भए चालक, प्रहरी अनुसन्धान जारी

दुर्घटनाग्रस्त जीपका चालक अनिल पण्डित भने जोगिए। सुनसरीको इनरुवा नगरपालिका-२ निवासी २२ वर्षीय पण्डितलाई गम्भीर चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुँइटेलका अनुसार उनलाई धुलिखेल अस्पताल हुँदै भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि लगिएको छ। टाउकोमा चोट लागेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन खोज्दैछ।

खोटाङको एउटा परिवार शोकमा डुबेको छ, एउटा गाउँ स्तब्ध छ।

ओखलढुङ्गामा बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस