Wednesday, April 30, 2025
समाजदीपक थापा नेपाल प्रहरीका नयाँ आइजिपी, ६ महिनाको कार्यकालमा कस्तो नेतृत्व दिने?
spot_img

दीपक थापा नेपाल प्रहरीका नयाँ आइजिपी, ६ महिनाको कार्यकालमा कस्तो नेतृत्व दिने?

काठमाडौं । नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ।

थापा हालसम्म केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुखका रूपमा कार्यरत थिए। उनी वरिष्ठता र कार्यअनुभवका आधारमा प्रतिस्पर्धी एआइजी टेकबहादुर तामाङ र सुदीप गिरीलाई पछि पार्दै प्रहरी प्रमुख बनेका हुन्।

पूर्व आइजिपी वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिनुअघि सरकारले नयाँ नेतृत्वका रूपमा थापालाई चुनेको हो। थापा प्रहरी सेवामा ३० वर्षदेखि कार्यरत छन्। उनी २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक पदमा भर्ना भएका थिए। त्यसयता उनले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै प्रहरी संगठनमा आफूलाई अब्बल प्रमाणित गरेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका-८, सिपाडोलमा जन्मिएका थापाले कानुनमा एलएलबी, राजनीति शास्त्रमा एमए र जनप्रशासनमा एमपिए गरेका छन्। उनले नेपाल प्रहरीका विभिन्न निकायमा सेवा दिँदै प्रशासन, अपराध अनुसन्धान र नीति निर्माणमा योगदान पुर्याएका छन्।

उनले बागमती प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज लगायत विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा काम गरेका छन्।

थापा संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत सुडान र लाइबेरियामा शान्ति स्थापनार्थ सेवा गरिसकेका अनुभवी प्रहरी अधिकृत हुन्।

छोटो कार्यकालमा प्रभाव पार्ने चुनौती

थापाको कार्यकाल नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिका कारण ६ महिना मात्र रहनेछ। तर, गृह मन्त्रालयले संसद्मा दर्ता गराएको प्रहरी सम्बन्धी विधेयक पारित भएमा उनको कार्यकाल थप ६ महिना लम्बिन सक्छ।

अबको छोटो अवधिमा उनले संगठनभित्र सुधार र सशक्त कार्यसम्पादन गर्न सक्लान् या पूर्ववर्ती आइजिपी कुँवरझैं राजनीतिक दबाब सामना गर्नुपर्नेछ भन्ने चासो प्रहरी संगठनभित्र नै उठिरहेको छ।

कुँवरको कार्यकाल र नयाँ अपेक्षा

पूर्व आइजिपी कुँवरको दुई वर्षे कार्यकाल मिश्रित रह्यो। उनले प्रहरी संगठनभित्र सुधार ल्याउने प्रयास गरे पनि सरुवा-बढुवा जस्ता संवेदनशील मामिलामा राजनीतिक प्रभाव परेकै कारण आलोचनाको सामना गर्नुपर्यो।

नयाँ आइजिपी थापाले अब प्रहरी संगठनलाई कसरी अगाडि बढाउनेछन् भन्ने प्रश्न उठेको छ। प्रहरी संगठनभित्र स्वच्छता, राजनीतिक हस्तक्षेप न्यूनीकरण र अपराध नियन्त्रणमा कसरी सक्रिय भूमिका निर्वाह गर्नेछन् भन्ने चासो प्रहरीभित्र र बाहिर दुवै ठाउँमा छ।

मंगलबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह ग्रहण गरेपछि थापा प्रहरी प्रधान कार्यालयमा पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्। उनका निर्णय र प्राथमिकताले अबको प्रहरी नेतृत्वको दिशा तय गर्नेछ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img