Wednesday, April 30, 2025
कृषीगाजर बेचेरै मासिक लाखौँ आम्दानी
spot_img

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

हेटौँडा | मकवानपुरको भीमफेदी गाउँपालिकाका रेश्मा थापा र अर्जुन थापा दम्पतीले गाजर खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै मासिक लाखौँ आम्दानी गरिरहेका छन्। सात वर्षसम्म चालक पेसामा संलग्न रहेका अर्जुनले स्थिर आम्दानी नहुँदा आफ्नै जमिनमा कृषि पेसा अपनाउने निर्णय गरे। अहिले भने उनीहरू गाजर, मुला, काउली, आलु, बन्दा जस्ता रैथाने तरकारी उत्पादन गर्दै बजारमै बिक्री गरी उदाहरणीय कृषकको रूपमा परिचित भएका छन्।

थापा दम्पतीको दिनचर्या बिहानै खेतमा काम गर्ने र दिउँसो खेतबारीबाट उत्पादन भएका तरकारीहरू बिक्री गर्ने तालिकामा बित्छ। हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्डमा, विशेष गरी जुरीखेत क्षेत्रमा, उनीहरू आफ्नै उत्पादन बिक्री गर्दै आएका छन्। “हामीले दैनिक ३०० किलो गाजर बिक्री गर्छौं,” अर्जुन भन्छन्, “पचास रुपैयाँ किलोका दरले मासिक चार लाख ५० हजार रुपैयाँको कारोबार हुन्छ। खर्च कटाएर तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ।”

गाजर खेती उनीहरूको प्रमुख आम्दानीको स्रोत भए पनि काउली, आलु, बन्दाकोपी, मुलाजस्ता अन्य तरकारीबाट पनि राम्रो आम्दानी भइरहेको छ। उनीहरू मासिक सरदर पाँच लाख रुपैयाँसम्म कमाउने बताउँछन्। “विदेश जानु पर्दैन, आफ्नै गाउँठाउँमै मेहनत गरे कमाउन सकिन्छ,” रेश्मा थापा भन्छिन्, “हामीले घरघडेरी जोडेका छौँ, ऋण तिरेका छौँ।”

व्यावसायिक कृषिमा उनीहरूलाई मुख्य फाइदा श्रम आफैं लगाउनुमा मिलेको छ। “खेताला लगायौं भने फाइदा कम हुन्छ,” अर्जुन भन्छन्, “हामी आफैं खेतमा काम गर्छौं, जसले उत्पादन लागत घटाउँछ।” उनीहरू विशेष गरी ‘न्यु कोरोदा’ जातको गाजर उत्पादन गर्छन्, जसको उत्पादन दर राम्रो हुने बताउँछन्।

भीमफेदीको जुरीखेत क्षेत्रमा करिब ४० परिवार कृषि पेशामै निर्भर छन्। थापा परिवारले हप्तामा पाँच दिन सडक छेउको खाली स्थानमा स्थानीय सरकारलाई कर तिरेर व्यापार गर्ने गरेका छन्। “व्यापार गर्ने निश्चित ठाउँ छैन,” अर्जुन भन्छन्, “सडक छेउमा दुई–तीन वर्षदेखि तरकारी बेच्दै आएका छौँ।”

स्थानीय उत्पादनलाई विस्तार गर्दै, आफ्नो लगानीसमेत बढाउँदै लगेका थापा परिवार अहिले स्वदेशमै उद्यम गरेर आत्मनिर्भर बन्न सकिने प्रेरणादायी उदाहरण बनेका छन्। मकवानपुरकै विभिन्न नगर तथा गाउँपालिकामा गाजर खेती फस्टाउँदै गए पनि यसको कुनै आधिकारिक तथ्यांक नभएको कृषि विकास कार्यालयले जनाएको छ। तर जुरीखेतमा उत्पादित गाजर हेटौँडासहित तराईका विभिन्न जिल्ला तथा काठमाडौँ उपत्यकासम्म पुग्ने गरेको छ।

“हामीले मेहनत गर्न छोडेनौँ, त्यसैले सफलता हात लाग्यो,” रेश्मा थापा भन्छिन्, “जमिन बाँझो नराखौँ, मेहनत गरौँ, विदेश जानै पर्दैन।”

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img