Wednesday, April 30, 2025
समाजभालेश्वर मन्दिर जाने पैदलयात्रुहरूसँग शुल्क असुली, चेकप्वाइन्ट हटाउन थाहा नगरको निर्देशन
spot_img

भालेश्वर मन्दिर जाने पैदलयात्रुहरूसँग शुल्क असुली, चेकप्वाइन्ट हटाउन थाहा नगरको निर्देशन

हेटौँडा | चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिर जाने पैदलयात्रुहरूसँग अवैध रूपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको समाचार बाहिरिएपछि थाहा नगरपालिकाले चेकप्वाइन्ट हटाउन निर्देशन दिएको छ। नगरपालिकाले सात दिनभित्र शुल्क असुली बन्द नगरे कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।

थाहा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजकुमार बलामीले चन्द्रागिरी हिल्सले नगरपालिकाको कुनै सहमति बिना यात्रुहरूसँग पैसा उठाइरहेको भन्दै आपत्ति जनाएका छन्। उनले भने, “सार्वजनिक बाटोमा अवैध शुल्क लिने कार्य कानुनविपरीत छ। हामीले सात दिनभित्र चेकप्वाइन्ट हटाउन निर्देशन दिएका छौँ।”

इन्फो नेपाललाई प्राप्त रसिदअनुसार ९१२१ नम्बर देखिएको छ, जसको आधारमा झन्डै १० हजार यात्रुसँग शुल्क असुली भएको अनुमान गर्न सकिन्छ। पछिल्ला तीन महिनामा मात्रै करिब ५० लाख रुपैयाँ संकलन भएको बताइन्छ।

स्थानीय बासिन्दा रामशरण श्रेष्ठ भन्छन्, “यो बाटो दशकौँदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको हो। अहिले आएर शुल्क लिने कार्य गैरकानुनी हो।”

यात्रु सुमित्रा केसी भन्छिन्, “पहिले निःशुल्क आउ-जाउ गर्न सकिन्थ्यो, अहिले जबर्जस्ती पैसा उठाइन्छ। कुनै सरकारी बोर्ड छैन, केवल निजी सुरक्षागार्डले पैसा उठाइरहेका छन्।”

यस विषयमा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गी भन्छन्, “नगरपालिकाले शुल्क लिन अनुमति दिएको छैन। तर बाहिरी मानिसहरू आएर फोहोर गरिरहेको भन्दै चन्द्रागिरी हिल्सले यस्तो कदम चालेको हुनसक्छ।”

थानकोटका स्थानीयहरू चन्द्रागिरी हिल्सको यो कार्यको खुलेर विरोध गरिरहेका छन्। उनीहरूका अनुसार, “चन्द्रागिरी हिल्सले केही प्रभावशाली व्यक्तिहरूसँग मिलेर अवैध असुली गरिरहेको छ।”

थाहा नगरपालिका वडा नं. ९ कार्यालयले सात दिनभित्र चेकप्वाइन्ट हटाउन निर्देशन दिइसकेको छ। यदि समयमा हटाइएन भने कानुनी कारबाही अघि बढाइने बताइएको छ। वडाध्यक्ष बलामी भन्छन्, “हामीले यो कार्य तुरुन्त रोक्न निर्देशन दिएका छौँ। यदि पालना भएन भने थप कडा कदम चालिनेछ।”

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img