इलाम | आगामी बिहीबार (चैत ७ गते) देखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा इलामका विद्यार्थीहरूलाई विद्यालय पोशाक अनिवार्य गरिएको छ। परीक्षा मर्यादित बनाउन तथा अनुशासन कायम राख्न शिक्षा विकास तथा समन्वय इकाई इलामले यस्तो व्यवस्था लागू गरेको हो।
इकाइ प्रमुख शालिग्राम दाहालले सबै माध्यमिक विद्यालयलाई पत्राचार गर्दै परीक्षामा विद्यार्थीहरूले तोकिएको पोशाक लगाउनैपर्ने नियम लागू गरिएको जानकारी दिएका छन्। परीक्षा आचारसंहिता उल्लङ्घन हुन नदिन कपि, किताब, गेसपेपर, मोबाइल फोन, ट्याब, स्मार्ट घडी तथा अन्य इलेक्ट्रोनिक सामग्री समेत परीक्षा हलमा लैजान नपाइने चेतावनी दिइएको छ।
परीक्षा निष्पक्ष बनाउन सुरक्षा प्रबन्धलाई कडा बनाइँदैछ। विद्यालय पोशाक अनिवार्य गरिनुको मुख्य उद्देश्य विद्यार्थी पहिचान स्पष्ट पार्ने, ठगी रोक्ने र परीक्षाको विश्वसनीयता जोगाउने रहेको अधिकारीहरू बताउँछन्।
यसवर्ष इलाममा २६ परीक्षा केन्द्र तोकिएको छ। नियमित विधार्थी ३ हजार ३ सय ८० जना तथा ग्रेडवृद्धि परीक्षार्थी ८ सय २९ जना रहेका छन्। पुरानो पाठ्यक्रम (२०७८-०७९) अनुसार परीक्षा दिने ग्रेडवृद्धि परीक्षार्थीका लागि भगवती मावि गोलाखर्क, भने नयाँ पाठ्यक्रम (२०८०) अन्तर्गत ग्रेडवृद्धि परीक्षार्थीका लागि नियमित परीक्षा केन्द्र तोकिएको छ।
विद्यार्थीलाई परीक्षा केन्द्रमा निर्धारित समयभन्दा कम्तीमा एक घण्टा अघि नै उपस्थित हुन आग्रह गरिएको छ।