काठमाडौं | नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कुनै पनि पात्रो वा भित्तेपात्रो प्रकाशन गर्नु अघि अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था रहेको भन्दै प्रकाशकहरूलाई आधिकारिक अनुमति लिन आह्वान गरेको छ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल का अनुसार, मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गरेपछि, कुनै पनि पात्रो वा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिनुपर्ने नियम लागू भएको हो।
समितिले अनधिकृत रूपमा प्रकाशित पात्रो बजारमा नआओस् भन्ने उद्देश्यले निरन्तर अनुगमन गरिरहेको जनाएको छ। स्वीकृति नलिई छापिएका पात्रोहरूले चाडपर्व, विदा तथा अन्य धार्मिक एवं सामाजिक कुराहरूमा भिन्नता ल्याउन सक्ने भएकाले यसलाई रोक्नुपर्ने समितिको भनाइ छ।
समितिले समाजमा भ्रम फैलाउने कुनै पनि पात्रो वा भित्तेपात्रो कानुनी कारबाहीको दायरामा पर्ने चेतावनी दिएको छ। बजार अनुगमनका क्रममा स्वीकृति नलिएका पात्रोहरू जफत गरिने र सम्बन्धित प्रकाशकलाई कानुनी दायरामा ल्याइने बताइएको छ।
समितिले विगतदेखि नै बजार अनुगमन गर्दै पात्रो तथा भित्तेपात्रो प्रकाशनको नियमन गरिरहेको भन्दै, सबै प्रकाशकहरूलाई नियम पालना गर्न आग्रह गरेको छ।