काठमाडौँ | सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ १९ गते) देखि देशभर अनिश्चितकालीन रूपमा यातायात बन्द गर्ने निर्णय गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को अगुवाइमा देशभरका सार्वजनिक सवारीसाधन ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रिने घोषणा गरिएको हो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले रातोपाटीसँग कुरा गर्दै गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीप्रति आपत्ति जनाउँदै सो नियम खारेजीको माग गर्दै आन्दोलन थालेको बताए। उनका अनुसार निजी प्रयोजनका लागि किनेका सवारी साधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने सरकारी निर्णय गैरकानुनी र अन्यायपूर्ण रहेको भन्दै आफूहरू पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर सवारी ग्यारेजमै राख्ने निर्णय गरिएको हो।
यसैबीच संघर्ष समितिले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राइड सेयरिङसम्बन्धी नियमावली खारेज नभएसम्मको लागि सुरु गरिएको यो आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुनेछ। आम उपभोक्ता, यात्रु, मजदुर, कर्मचारीहरूलाई पनि सार्वजनिक यातायात जोगाउन आ–आफ्नो स्थानबाट सहयोग गर्न हामी हार्दिक अनुरोध गर्दछौं।”
सरकारले निजी सवारीहरूलाई व्यवसायिक रूपमा प्रयोग गर्न दिने निर्णयबाट सार्वजनिक यातायात व्यवसायमा व्यापक प्रभाव पर्ने भन्दै व्यवसायीहरू आक्रोशित बनेका छन्। उनीहरूले सार्वजनिक यातायात क्षेत्रलाई संरक्षण गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन्।



