भोजपुर | शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्कंदै गरेका भोजपुरका एक युवकको सुनसरीको तरहरामा बसले ठक्कर दिँदा मृत्यु भएको छ।
मृत्यु हुनेमा भोजपुर जिल्ला टेम्केमैयुम गाउँपालिका–३ निवासी २६ वर्षीय खगेन्द्र चौलागाईं रहेका छन्। उनी हाल अन्नपूर्ण वागधन रणदीपा राई माध्यमिक विद्यालयमा प्राथमिक तहको शिक्षकको रूपमा कार्यरत थिए।
शनिबार (जेठ १९ गते) बिहान खगेन्द्र चौलागाईंले इटहरीस्थित ज्योति मावि परीक्षा केन्द्रबाट निम्न माध्यमिक तहको शिक्षक पदको परीक्षामा सहभागी भएका थिए। परीक्षा दिएर उनी साँझमा आफ्नी ठूली दिदीको घरबाट साइँली दिदी लक्ष्मी पराजुलीसँग मोटरसाइकलमा फर्किंदै गर्दा झापा दिक्तेलबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिएको थियो।
दुर्घटना तरहरास्थित दंगाल टोल नजिकै भएको सुनसरी प्रहरीले जनाएको छ। बसले ठक्कर दिँदा गम्भीर घाइते भएका खगेन्द्र चौलागाईंलाई तुरुन्तै विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो। तर उपचारको क्रममा सोही रात उनको निधन भएको हो।
उक्त दुर्घटनामा घाइते लक्ष्मी पराजुलीको अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
शिक्षक बन्ने सपना अधुरो
प्राथमिक तहमा अध्यापन गराइरहेका चौलागाईंले स्थायी शिक्षक बन्ने लक्ष्यसहित तयारी गरिरहेका थिए। उनी समर्पित शिक्षक, फुटबल खेलाडी र अनुशासित युवाको रूपमा परिचित थिए। उनले हालैको महिनाहरू शिक्षक सेवा आयोगको तयारीमा बिताएका थिए।
परीक्षा सकेर दाजु-भाउजूसँग भेटेर फर्किंदा उनी आत्मविश्वासका साथ भनेका थिए — “अब म पास हुन्छु।” तर परीक्षा दिएर फर्कने बाटो उनको जीवनको अन्तिम यात्रा बन्न पुग्यो।
मृतक चौलागाईंका जेठा दाजु पनि शिक्षक पेशामै कार्यरत छन्। दुई दाजुभाइ एउटै पेसामा लागेर गाउँको शैक्षिक विकासमा समर्पित थिए। चौलागाईंको असामयिक निधनले परिवार, विद्यालय, विद्यार्थी र गाउँलेहरूमा ठूलो शोक छाएको छ।
विद्यालय प्रशासनका अनुसार उनले अध्यापन गर्ने कक्षामा विद्यार्थीहरूले शोक व्यक्त गरेका छन्। “सधैं अनुशासित, प्रेरणादायी र न्यानो व्यवहार गर्ने शिक्षक थिए,” विद्यालयका प्रधानाध्यापकले बताए।
दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार चालकको लापरवाहीकै कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।