Saturday, July 19, 2025
समाजमुस्लिम धर्मावलम्बीलेआज बकर ईद मनाउँदै

मुस्लिम धर्मावलम्बीलेआज बकर ईद मनाउँदै

spot_img

काठमाडौं | मुस्लिम धर्मावलम्बीले दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) शनिबार देशभर श्रद्धा र उल्लासका साथ मनाउँदै छन्।

रमजानपछि आउने इदुल फित्र पर्वको ठीक ७० दिनपछि बकर ईद मनाउने धार्मिक परम्परा छ। यो दिन मुस्लिम समुदायले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज अदा गर्छन्। नमाजपछि एकअर्कालाई अँगालो मारेर शुभकामना आदान–प्रदान गर्ने परम्परा रहिआएको छ।

- Advertisement -

काठमाडौंको घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका प्रमुख मस्जिद र इदगाहमा बिहानैदेखि मुस्लिम धर्मावलम्बीको भीड लागेको छ। धर्मग्रन्थ अनुसार, हिजरी संवत १४४० वर्षअघि अल्लाहको आदेशमा हजरत इब्राहिमले आफ्नो छोरा इस्माईललाई बलिदान गर्न तयार भएको घटनाको सम्झनामा बकर ईद मनाउने चलन चल्दै आएको हो।

मुस्लिम धर्मगुरु मौलाना रहमत अलीका अनुसार हजरत इब्राहिमको वंशमै इस्लाम धर्मका पैगम्बर मोहम्मद सलल्लाहु अलैहि वसल्लमको सन् ५७१ मा मक्कामा जन्म भएको थियो। उनी ५३ वर्षको उमेरपछि मदिनामा सरेका थिए। यही ऐतिहासिक यात्रा र योगदानको सम्झनामा हरेक वर्ष साउदी अरबको मक्का र मदिनामा विश्वका लाखौं मुस्लिम धर्मावलम्बीले हज यात्रा गर्छन्।

नेपाल सरकारले हज यात्राका लागि गृह मन्त्रालयअन्तर्गत हज समिति सचिवालयमार्फत यात्राको व्यवस्थापन गर्ने गर्छ। तर मक्का–मदिना पुग्न नसक्ने धेरै मुस्लिम समुदायले आफ्नै गाउँघरमा कुर्बानी गरेर बकर ईद मनाउने गरेका छन्।

धार्मिक मान्यताअनुसार इब्राहिम अलैहिस्सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट जन्मिएका छोरा इस्माईललाई बलिदान गर्न लाग्दा अल्लाह प्रशन्न भएर उनको ठाउँमा स्वर्गको एक दुम्बा पठाएका थिए। त्यसयता, बकर ईदमा कुर्बानी दिने परम्परा कायम छ। मुसलमानले यस दिन धर्मले अनुमति दिएको जनावरको बली (कुर्बानी) दिई अल्लाहलाई खुसी पार्ने विश्वास राख्छन्।

कुर्बानीको मासु तीन भागमा बाँडिन्छ – एक भाग गरिब र विपन्नलाई, अर्को भाग आफन्त र इष्टमित्रलाई र बाँकी एक भाग परिवारका सदस्यले ग्रहण गर्छन्।

बकर ईदको उल्लास मुस्लिम धर्मावलम्बीले लगातार तीन दिनसम्म मनाउने गर्दछन्। यस पर्वले त्याग, समर्पण, भाइचाराको सन्देश दिनुका साथै समाजमा करुणा र सहयोगको भावना बलियो बनाउने धार्मिक विश्वास पाइन्छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img