अमेरिका | अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कमा बसोबास गर्दै आएका नेपाली मूलका चार व्यक्तिको शव एकै घरमा भेटिएको छ। मर्नेहरूमा एक पुरुष, एक महिला र दुई बालबालिका छन्। घटनास्थलमा गोली लागेका घाउ देखिएको र प्रहरी अनुसन्धान अनुसार यो घटना हत्यापछि आत्महत्याको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ।
जुन ५ तारिखको राति १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्ने परिवारसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। लाने लेनको ९४०० ब्लकमा रहेको घरको तल्लो तला (अपार्टमेन्ट) मा छिरेपछि प्रहरी टोलीले चार जनाको शव फेला पारेको हो। मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्। घटनास्थलमै एक थान बन्दुकसमेत फेला परेको छ।
प्रहरीले यो घटना परिवारभित्रै सीमित भएको र बाहिरी व्यक्तिको संलग्नता नदेखिएको जानकारी दिएको छ। गोली चलाउने व्यक्तिको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। मृतक परिवार झण्डै ६ महिनाअघि मात्र सो बस्तीमा बसोबास गर्न आएका थिए। शवहरूलाई पोस्टमार्टमका लागि मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ।