काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताएकी छन् ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा आज उनले आम जनतामा विद्युतको पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा पुर्याउने अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरिन् ।
मन्त्री भुसालले भनिन्, ‘उद्योग, कृषि, सिँचाइ, घरायसी प्रयोजनलगायत सबै क्षेत्रमा विद्युत् खपत गर्ने अभियानमा छौँ, त्यसका लागि सबै क्षेत्रले सहयोग गर्नुपर्छ, सरकार र नेपाल विद्युत् प्राधिकरण सहजीकरणका लागि तयार छ ।’उनले विभिन्न उपभोक्ता समिति गठन गरेर जनतामा विद्युत् सेवा उपलब्ध गराउन सुरु गरेको अभियानले हाल देशभरका ५५ जिल्लाका करिब पाँच लाख ५० हजारभन्दा घरधुरीमा विद्युत् उपलब्ध गराएकोप्रति महासङ्घलाई धन्यवाद व्यक्त गरिन् ।
सरकारको ८० प्रतिशत र समुदायको २० प्रतिशत सहभागिता हुनेगरी विद्युतीकरण तथा प्रणाली सुधारका कार्य हुने गरेकामा हाल सरकारले आफ्नो सहयोग बढाएर ९० प्रतिशत पु¥याएको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दुई वर्षभित्र देशका सबै जनतामा राष्ट्रिय प्रसारणको विद्युत् पु¥याउने लक्ष्य लिइएको बताइन् ।
सामुदायिक संस्थाका लागि भनेर सरकारले आम उपभोक्तालाई दिइरहेकोभन्दा विद्युत् महशुलमा केही सहुलियतसमेत दिएको स्मरण गराउँदै उहाँले गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । आफूले जिम्मेवारी सम्हालेपछि गरेको २० युनिटसम्म खपत गर्ने ग्राहकको विद्युत् महशुल छुट गर्ने निर्णयमा सामुदायिक संस्थाअन्तर्गतका ग्राहकलेसमेत छुट पाउने गरी व्यवस्था मिलाएको बताउँदै उनले सबै उपभोक्ताले गुणस्तरीय विद्युत् सुविधा पाउने व्यवस्था मिलाउन र विद्युतीय सुरक्षामा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिइन् ।



