भक्तपुरको दरबार क्षेत्र (लायकु) ‘नृत्य वत्सला मन्दिर’ एक कार्यक्रमार्फत उद्घाटन गरिएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको उक्त मन्दिर भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको हो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले उक्त मन्दिरको उद्घाटन गरेका हुन् । सोही समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित नृत्य वत्सला मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित ‘नृत्य वत्सला मन्दिर पुनःनिर्माण २०७८’ पुस्तक सार्वजनिक गरे ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ढुंगै ढुंगाले बनेको शिखर शैलीका वत्सला मन्दिर पुनःनिर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको बताए ।
नयाँ पुस्तालाई सम्पदाको महत्वबारे प्रशिक्षित गर्दै मौलिक सीप र प्रविधिको ज्ञान हस्तान्तरण गर्नु आवश्यक रहेको र दरबार क्षेत्रमा अवस्थित लाल बैठकलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रतिकूल अवस्थामा पनि स्थानीय जनताको सहयोगमा उपभोक्ता समितिमार्फत वत्सला मन्दिर पुनःनिर्माण गरेको बताए ।
वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रु. १ करोड २८ लाख ६२ हजार लगत इस्टमेट पारित गरेको र उपभोक्ता समितिमार्फत आवधिक योजनामा समावेश गरी राखी काम गर्दा रु. ७७ लाख १३ हजार खर्चमै पुनःनिर्माण सम्पन्न भएको नगर प्रमुख प्रजापतिले अवगत गराए ।
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण गर्ने सीप अहिले पनि जीवित रहनु सुखद् पक्ष रहेको बताए ।