काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी (एमसिसी)बारे निर्णय लिन आग्रह गरेका छन् ।
स्रोतका अनुसार बिहीबार साँझ प्रचण्डले ओलीलाई फोन गरेर एमसिसीबारे निर्णय गर्न आग्रह गरेका हुन् । हाल माओवादी सत्तामा छ भने एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको छ ।
‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन भनेर अध्यक्ष ओलीलाई भन्नु भयो,’ ओली-प्रचण्डको टेलिफोन वार्ता उदृत गर्दै स्रोतल भन्यो, ‘ तर अध्यक्ष ओलीले पहिले तपाई आफूले नै निर्णय गर्नुस् भन्नुभयो । तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ। हटाइसकेपछि ४-५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ । प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नू । नेकपा (नेमाले)ले त निर्णय गरिहाल्छ।’
एमसिसीका कारण सत्ता गठबन्धन नै तोडिने अवस्थामा छ । सत्तामै रहेका माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरु एससिसीको विपक्षमा रहेका छन् भने काँग्रेस जसरी पनि एमसिसी पास गर्ने पक्षमा रहेको छ । प्रमुख प्रतिपक्षी दल एमाले भने सरकारको निर्णय कुरिरहेको छ ।
उता एमसिसी पास गराउनका लागि अमेरिकी अधिकारी तथा मन्त्रीहरुले पनि दबाव बढाइरहेका छन् । जसका कारण राजनीतिक दलका नेताहरु दबावमा छन् ।