काठमाडौं – माओवादी केन्द्र अबको सरकार गठन गर्न ‘जता पनि तयार’ देखिएको छ। अपेक्षाअनुसार चुनावी नतिजा आफ्नो पक्षमा नआएको विश्लेषणसहित उक्त पार्टी सरकार गठनमा सबै विकल्प खुला राख्ने पक्षमा उभिएको हो।
पाँच दलीय सत्ता गठबन्धन छाड्ने निर्णय नभए पनि ‘एमालेसँग मिलेर सरकार गठन’ को विकल्प खुला राख्ने नेताहरूले बताएका छन्। उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका विषयमा एमालेसँग मिल्न सकिनेलगायत विकल्प खुला राखिएको बताए। ‘अहिले जुन गठबन्धन छ त्यो छोड्ने निर्णय होइन,’ नेता महराले भने, ‘अरू सबै विकल्प हामीले खुलाएका छौं।’
चुनावी समीक्षा गर्न शनिबार माओवादी पदाधिकारीको बैठक बसेको थियो। बैठकमा अपेक्षाअनुसार चुनावी परिणाम नआएको निष्कर्ष निकालिएको महराले बताए।
महासचिव देव गुरुङले एमालेसँग पनि सरकार गठनका लागि वार्ता र संवाद हुने बताए। राजनीतिक कोर्स जता पनि जान सक्ने उल्लेख गर्दै नेता गुरुङले गठबन्धन अहिले यथावत् रहेको बताए। तर, भावी समीकरणबारे अहिले नै टुंगो नलागेको उनको भनाइ थियो। एमाले नेताहरू पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न अरू दलसँग संवाद र सहकार्य गर्ने बताइरहेका छन्।