काठमाडौं । सरकारलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने तयारी गरिरहेको छ । जसपाले सत्ताको भागबन्डा सम्मानजनक नभएको भन्दै मन्त्रालय स्वीकार गरेको छैन ।
जसपालाई भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफैँसँग राखेका छन् । जसमा वन तथा वातावरण र खेलकुद मन्त्रालय रहेको छ । यही भागबन्डामा सरकारमा सहभागी हुन नसकिने भनाइ जसपा नेताहरू बताउँछन् ।
शुक्रबार सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको वर्तमान सरकारमा गृहमन्त्रालय खाली भएको छ । जसपाले गृह मन्त्रालय र उपराष्ट्रपति पद लिएर सरकारमा जाने विषयमा छलफल अघि बढाउने तयारी गरेको छ ।
“अब नयाँ परिस्थिति सिर्जना भयो । यो परिस्थिति हामीले सिर्जना गरेका हैनौँ,” जसपा नेता प्रमोद साहले बाह्रखरीसँग भने, “अब गृह मन्त्रालय, राष्ट्रपति, उपराष्ट्रपति र केही मन्त्रालय हेरफेर गर्ने र सरकारमा सहभागी हुने विषयमा छलफल अघि बढाउन सकिन्छ ।”
उनले जनतासँग जोडिएका विकासका मन्त्रालय दिएमात्र गरिएका कामहरू जनतासमक्ष देखिने भएकाले त्यस्ता मन्त्रालयमा आफ्नो पार्टीको दाबी रहेको बताए । जनताले गठबन्धनको म्यान्डेट दिएकाले गठबन्धनमा आबद्ध दलहरूको समान हैसियतमा भागबन्डा हुनुपर्नेमा उनले जोड दिए ।



