विराटनगर | कोशी प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबण्डा मिलेको छ । भागबण्डाअनुसार एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा कांग्रेसले चार मन्त्रालय पाउनेछ ।
यसैगरी केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएको छ । वतर्मान एमाले नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको कांग्रेस नेता एव प्रदेश सभासद भीम पराजुलीले जानकारी दिए ।
प्रदेश सभासद पराजुलीका अनुसार दुवै दलका नेताहरूको शनिबार काठमाडौंमा सम्पन्न बैठकले सरकारको नेतृत्व आलोपालो गर्नेसँगै मन्त्रालय भागबण्डाको विषयमा सहमति गरेका हुन् ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाबीचको बैठकले मुख्यमन्त्रीमा आलोपालोसहित प्रदेशमा चार–चार वटा मन्त्रालय लिने गरी सहमति गरेको बैठकमा सहभागी छ ।
यी दुई दलका नेताहरूले मुख्यमन्त्री पदमा दुवै दलले आलोपालो गर्ने र त्यसको समयको निर्धारण केन्द्रीय गठबन्धन अनुसार गर्ने सहमति भएको छ।
कोशीमा अहिले एमालेका कार्की मुख्यमन्त्री छन् भने संघमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । यो सहमति अनुसार अब केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिनेछ ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, वन वातावरण तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने निश्चित भएको छ । यी तीन वटै मन्त्रालय यसअघि माओवादीसँग थियो ।
कांग्रेसले यी बाहेक सामाजिक विकास र कृषि मन्त्रालयमध्ये एउटा लिने सहमति भएको छ । यससँगै कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन बाँकी छ । अहिले कांग्रेस सांसदहरू मन्त्रीका लागि दौडमा छन् ।