हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘भ्रष्टाचारमुक्त बागमती प्रदेश’ निर्माण गर्ने अठोट व्यक्त गरेका छन्। सोमबार निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले राज्य सञ्चालनमा पारदर्शिता कायम राख्न आफ्नै स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ कम्पनी परिवारका सदस्यको नाममा हस्तान्तरण गरेको बताए।
‘वार्षिक तीन अर्बभन्दा बढी कारोबार गर्ने कम्पनी मैले स्वार्थ नबाझियोस् भनेर छाडेको छु,’ मुख्यमन्त्री बानियाँले भने, ‘अब म स्वतन्त्र भएर सुशासन र आम नागरिकको समस्या समाधानमा लाग्छु।’
उनले निर्माण व्यवसायमा भइरहेको अनियमितता र ‘लो बिडिङ’को बाध्यताले ठेकेदारहरू संकटमा परेको बताए। यसलाई अन्त्य गर्न सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर ‘एभरेज बिडिङ’को अवधारणा ल्याउनुपर्नेमा उनले जोड दिए।
साथै उनले १० लाख रुपैयाँभन्दा माथिका सबै योजना अब टेन्डरमार्फत मात्रै अघि बढाइने व्यवस्था कार्यान्वयनमा आइसकेको जानकारी दिए। उपभोक्ता समितिमार्फत हुने काममा देखिएको विकृति कम गर्न यो कदम चालिएको उनको भनाइ थियो।
मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीलाई गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गर्दै प्राविधिक परीक्षणले सामग्रीको मात्रा र गुणस्तर स्पष्ट पार्ने भएकाले अनुमानभन्दा कम सामग्री प्रयोग गर्ने प्रथा अब सह्य नहुने चेतावनीसमेत दिए।
उनको भनाइमा, ‘सुशासनयुक्त प्रदेश बनाउन सरकार प्रतिबद्ध छ। पारदर्शिता र गुणस्तरमा सम्झौता हुँदैन, तर व्यवसायीको काममा ढिलाइ पनि गरिँदैन।’



