काठमाडौं । सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्दै छ । परराष्ट्रमन्त्री डा। नारायण खड्काले आज अपराह्न राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ ।
अहिलेसम्म मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० जारी भएकोमा आजदेखि ई–पासपोर्ट जारी हुनेछ । शुरुमा दैनिक सीमित संख्यामा मात्र ई–पासपोर्ट वितरण गरिने भए तापनि एक साताभित्रै पूर्ण रूपमा वितरण गरिने विभागले जनाएको छ । ई–पासपोर्ट जारी भए तापनि तत्कालै ई–पासपोर्ट अनिवार्य नगरिने भएकाले आफूसँग भएको एमआरपीले नै काम चलाउन सकिने पनि विभागले जनाएको छ ।
राहदानी विभागले सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीआईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग २ अर्ब ४८ करोड रुपियाँमा ई–पासपोर्ट छपाइका लागि खरिद सम्झौता गरेको थियो ।सम्झौताअनुसार कम्पनीले १० महिनाभित्र ई–पासपोर्ट वितरणको काम सकेको हो ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले सुरक्षित भनेर परिभाषित गरेको ई–पासपोर्ट एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो हुनुका साथै उच्च प्रविधिको प्रयोगका कारण अन्तर्राष्ट्रिय जगत्मै विश्वासिलो पनि मानिएको छ ।
यसमा मोबाइलको सिमजस्तै सानो विद्युतीय चिपको प्रयोग हुन्छ । यसमा व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्यांक पनि राखिएको हुन्छ, जसले गर्दा कम्प्युटरले सजिलै रिड गर्न सक्छ । बायोमेट्रिक तथ्यांकका कारण राहदानीको दुरुपयोग हुने समस्याको समाधान हुने विश्वास गरिएको छ । यसको ‘सेक्युरिटी फिचर’ पनि कडा हुने गर्दछ ।
६४ पृष्ठको ई–पासपोर्टमा पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा हुनेछ । त्यसै गरी, पहिलो पृष्ठमा भने सगरमाथा, दोसोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने बताइएको छ ।