काठमाडौं । यतिबेला नेपालको इन्टरनेट बजारमा ‘स्पिड वार’ चलिरहेको छ । एकपछि अर्को गर्दै सेवाप्रदायक इन्टरनेटको स्पिड बढाएर ग्राहकलाई आकर्षित गर्न लागिपरेका छन् ।
चौधरी समूह अन्तर्गतको सीजी कम्युनिकेसन्सले इन्टरनेट सेवा सुरू गरेसँगै स्पिड वार सुरू भएकाे हाे । इन्टरनेट बजारमा भित्रिँदा एकैपटक १२० एमबीपीएस गतिको इन्टरनेटसहित ग्राहकमाझ भित्रिएको सीजी इन्टनेटमा नयाँ आयाम सिर्जना गर्न सफल भएको छ ।
हुन त सीजीअघि नै डिशहोमले १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको थियो । तर, सीजीको प्रवेश नेपालको इन्टरनेट बजारमा स्पिडका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भयाे ।सीजीसँगै अर्को इन्टरनेट सेवाप्रदायक सुबिसुले १५० एमबीपीएस गतिको इन्टरनेट ग्राहकलाई उपलब्ध गरायो । त्यसपछि बजारमा वर्ल्डलिंक भित्रियो । वर्ल्डलिंकले मेस राउटर सहितको ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्यायो ।
त्यतिमात्रै नभएर वर्ल्डलिंकले हिजो बुधबार इन्टरनेटको स्पिड वारमा थप नयाँ आयाम थपिदियो । वर्ल्डलिंकले मेस राउटरसहित १५०, २०० र ३०० एमबीपीएसका साथै ६०० एमबीपीएससम्मको इन्टरनेट ग्राहकलाई उपलब्ध गराउने निर्णय गर्यो ।साथै आफ्ना सम्पूर्ण प्रयोगकर्तालाई थोरैमा १५० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउने घाेषणासमेत कम्पनीले गरेको छ ।
यसले इन्टरनेट बजारमा थप रौनक ल्याएको छ । अघिल्लो सातामात्रै नेपालको तेस्रो ठूलो इन्टरनेट सेवाप्रदायक भायानेट १७५ एमबीपीएस गतिको इन्टरनेटसहित प्रस्तुत भएको छ ।हुन त कम्पनीले दशैं अफरको रुपमा १०० एमबीपीएसको इन्टरनेट यसअघि नै सुरु गरिसकेको थियो । यतिसम्म कि भायानेटले आफ्ना सम्पूर्ण ग्राहकलाई थोरैमा पनि १०० एमबीपीएको इन्टरनेट उपलब्ध गराउन थाल्यो ।
पुराना ग्राहकको हकमा समेत त्यही लागू भएको कम्पनीले जनाएको छ । यसअघि अर्को इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले पनि १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज बजारमा ल्याइसकेको छ ।त्यतिले नपुगेर अब मेस राउटरसहित ५०० एमबीपीएस र टाकियन प्रविधिमा आधारित भएर १ जीबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ ।
यसरी एकपछि अर्को गर्दै सेवा प्रदायकबीच ‘स्पिड वार’ सुरु हुँदा सरकार स्वामित्वकाे दूरसञ्चार कम्पनी नेपाल टेलिकम भने गुमनाम जस्तै भएको छ ।कम्पनीले आफ्ना ग्राहकलाई अहिले २५, ४० र ८० एमबीपीएसस गतिको फाइबर इन्टरनेट उपलब्ध गराएको छ । तर, त्योभन्दा माथिको प्याकेज छैन ।
साथै बजारमा डुअल ब्याण्ड राउटर भित्रिसक्दा समेत टेलिकमले आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराएको छैन । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले स्पिड वारमा कम्पनीको कुनै तयारी नभएको बताए ।उनले भने, ‘बजारमा धेरै एमबीपीएसको इन्टरनेटभन्दा पनि गुणस्तरको खाँचो छ । त्यो हुँदा तत्कालै स्पिड वारमा जाने तयारी छैन । तर, ग्राहकलाई नयाँ प्रविधि उपलब्ध गराउन डबल ब्याण्ड राउटर भित्र्याउने काम अघि बढिसकेको छ ।’
पहिलो चरणमा ५० हजार डबल ब्याण्ड राउटर ल्याउन माग भइसकेको जानकारी दिँदै उनले थप राउटरमा समेत डबल ब्याण्ड राउटर नै हुने समेत जनाए ।‘डबल ब्याण्ड राउटर भित्रिएसँगै ग्राहकको आवश्यकता अनुसार उच्च गतिको इन्टरनेट उपलब्ध गराउन सकिने उनकाे भनाइ छ । ‘त्यसपछि आवश्यक परेको खण्डमा स्पिड वारमा जानसक्ने अवस्था पनि कम्पनीसँग उपलब्ध हुनेछ’ उनले थपे ।



