इटहरी । चर्च ब्वाइज युनाइटेड काठमाडौंले इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि हात पारेको हो।
प्रतियोगिताको १४ औं संस्करणको फाइनल खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न सकेनन्। चर्च ब्वाइजका खेलाडी राजेश परियारले खेलको ४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। खेल गोलरहित बराबरीमा समाप्त भएपछि पेनाल्टी शुटआउटबाट विजेता टोली पहिचान गरिएको थियो।
चर्च ब्वाइजका राजेश परियारलाई नै खेलको म्यान अफ दि म्याच घोषित गरिएको छ। उनलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। यस्तै, उदयीमान खेलाडीतर्फ राजा क्लबका सुमित चौधरीले जुत्ता र मेडल जितेका छन्।
इटहरीबाट लामो समयदेखि खेल क्षेत्रमा योगदान पुर्याएका उमेश कार्कीलाई ११ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ। प्रतियोगिता अवधिभर उत्कृष्ट गोल गर्ने सगरमाथा युथ क्लब मोरङका विमल घर्ती मगरले २५ हजार रुपैयाँ नगद पुरस्कार जितेका छन्।
बेस्ट फरवार्डमा आर्मीका नवयुग श्रेष्ठ, बेस्ट मिडफिल्डरमा चर्च ब्वाइजका सुरजीउ ठकुरी, बेस्ट डिफेन्डरमा आर्मीका जीतेन्द्र कार्की, उत्कृष्ट गोलरक्षकमा चर्च ब्वाइजका दीप कार्की र उत्कृष्ट प्रशिक्षकमा चर्च ब्वाइजकै दर्शन भक्तराज घोषित भएका छन्। उनीहरूलाई २० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल प्रदान गरिएको छ।
सर्वोत्कृष्ट खेलाडीमा राष्ट्रिय जागृति क्लब (राजा) का मनोज दनुवार घोषित भएका छन्। उनले १ लाख रुपैयाँ नगद पुरस्कारसहित मेडल प्राप्त गरेका छन्।
प्रतियोगिताको विजेतासमेत बनेको चर्च ब्वाइजले १० लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी जितेको छ भने उपविजेता आर्मीलाई ५ लाख रुपैयाँ प्रदान गरिएको छ। विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल लगायतले गरेका थिए।
आयोजक राष्ट्रिय जागृति क्लब (राजा) का अध्यक्ष सन्त डुम्जनका अनुसार यस प्रतियोगितामा भारतसहित ८ टोली सहभागी थिए।