Wednesday, February 12, 2025
खेल समाचारराष्ट्रिय चेस स्पर्धामा रुपेशको एकल अग्रता

राष्ट्रिय चेस स्पर्धामा रुपेशको एकल अग्रता

हेटौंडा | नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडामा जारी २५औं पुरुष र १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा तेस्रो चरणसम्म एफएम रुपेश जैसवालले एकल अग्रता लिएका छन्। पूर्व नेपाल च्याम्पियन समेत रहेका रुपेशले तेस्रो चरणसम्म पूर्ण ३ अंक जोड्दै एकल अग्रता कायम गरेका छन् ।

रौतहटका २०९३ रेटेड रुपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल र काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई पराजित गरेका हुन्।

दोलखाका आशिष फुँयाल पनि अपराजित रहँदै २.५ अंकसहित उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा रहेका छन्। १९८१ रेटेड आशिषले काठमाडौंका २०१६ रेटेड एफएम रिजेन्द्र राजभण्डारी र भक्तपुरका १६८७ रेटेड विनय थापालाई हराएका छन् भने २०४५ रेटेड पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका छन्।

काभ्रेका २०७० रेटेड एफएम क्षितिज भण्डारी र प्रेमकृष्ण महर्जनले समान २-२ अंकसहित संयुक्त तेस्रो स्थानमा रहेका छन्। झापाका शुश्रुत दहाल, वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी, र काठमाडौंका सिएम नवीन तण्डुकारले १.५ अंक जोडेका छन्।

महिला स्पर्धामा सिन्दारा र एञ्जलको अग्रता

महिला वर्गमा काठमाडौंकी सिन्दारा जोशी र ललितपुरकी एञ्जल महर्जनले सबै खेल जित्दै संयुक्त अग्रता लिएका छन्। वर्तमान महिला च्याम्पियन सिन्दाराले काठमाडौंकी निहाना श्रेष्ठ, रुकुमकी नयुमा मगर र चितवनकी लक्ष्मी कँडेललाई पराजित गरिन्। एञ्जलले शान्ति धिमाल, निहाना श्रेष्ठ र नयुमा मगरलाई हराउँदै उत्कृष्ट प्रदर्शन गरेकी छिन्।

झापाकी पुनम प्रसाईं, ताप्लेजुङकी शुशिला गुरुङ, मोरङकी शान्ति धिमाल, बाँकेकी इशा गिरि, झापाकी कृतिसारा अधिकारी र काठमाडौंकी विनिता कपालीले समान २-२ अंक जोड्दै संयुक्त दोस्रो स्थान ओगटेका छन्।

मन्त्री महर्जनद्वारा उद्घाटन

सोमबार हेटौंडास्थित होटल सामनाको सभाहलमा बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रतियोगिताको उद्घाटन गरे। उनले खेलकुदको क्षेत्रमा बागमती प्रदेश सरकार सदैव सकारात्मक रहेको बताए।

कार्यक्रममा महासंघका सल्लाहकार संयोजक तथा पूर्वमन्त्री एकालाल श्रेष्ठले चेस खेलको महत्व र यसको भविष्यका सम्भावनाबारे चर्चा गरे। बागमती प्रदेश सांसद रघुनाथ महर्जनले पनि खेलमैदानलाई प्रोत्साहित गर्न प्रदेश सरकारले सहकार्य गर्ने बताए।

कार्यक्रम महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो। महासचिव धरमबहादुर लामाले सञ्चालन गरेका यस कार्यक्रममा सह-महासचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, प्रमुख निर्णायक आईए यज्ञप्रसाद पन्त लगायतको उपस्थिति थियो।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस