खेल समाचारत्रिकोणात्मक टी–२० सिरिजमा नेपालद्वारा नेदरल्याण्ड्समाथि ६ विकेटको जित

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालद्वारा नेदरल्याण्ड्समाथि ६ विकेटको जित

काठमाडौं | स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ। बिहीबार राति सम्पन्न खेलमा नेपालले १७५ रनको लक्ष्य १९.४ ओभरमै चार विकेटको क्षतिमा पूरा गर्दै प्रतियोगितामा शीर्ष स्थानमा उक्लिएको हो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। उनले ५१ बलमा ६ चौका प्रहार गरे। यस्तै, आरिफ शेखले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाएर रिटायर्ड हर्ट भए। खुट्टामा समस्या देखिएपछि उनी मैदान छाडेका थिए।

टी–२० डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए। कप्तान रोहित पौडेल ५ रनमै आउट भए भने दीपेन्द्र सिंह ऐरीले १६ रन र लोकेश बमले १२ रनको योगदान दिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्का सहित ८६ रनको उत्कृष्ट इनिङ खेले। उनी नेपालका करण केसीद्वारा आउट भए।

नेदरल्याण्ड्सका रोएलफ भ्यान डेर मेर्वेले नटआउट ३६ रन, आर्यन दत्तले १७ रन र साकिब जुल्फिकारले १४ रन जोडे।

नेपालका करण केसीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। त्यस्तै, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले एक–एक विकेट हात पारे।

जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। अब नेपालले शुक्रबार घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img