Sunday, April 20, 2025
पर्यटनपर्यटक लोभ्याउँदै बाघको मूर्ति
spot_img

पर्यटक लोभ्याउँदै बाघको मूर्ति

पाल्पा – कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । यो स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

रामपुर नगरपालिका–६ कालीगण्डकी नदीको किनारमा भर्खरै निर्माण भएको बाघको मूर्ति यति बेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ । नदीको किनार भएकाले पनि अन्य ठाउँको तुलनामा यहाँ घुम्न जानेहरू बढ्न थालेका छन् ।

पर्यटन विस्तार र विकास गर्ने उद्देश्यले बाघ लुक्ने ठाउँ अर्थात् ढाडलाई व्यवस्थित गरी बाघको आकृतिको मूर्ति निर्माण गरिएपछि हिजोआज पर्यटक आउने जाने क्रम चलिरहेको रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटाले बताए । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नदी कालीगण्डकीको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने गरी नदी किनारमा बाघको मूर्ति निर्माण गरिएको उनि बताउछन ।

‘बाघको ढाड क्षेत्रको आसपासमा बारबन्देज, विश्रामस्थल, फूलबारीसहितको बगैँचा, सडक स्तरोन्नतिलगायतको कामलाई वडा तहबाट प्राथमिकता दिएर आयआर्जन गर्ने गरी योजना बनाएका छौँ’, उहाँले भन्नुभयो, ‘आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई जोड्नका लागि नदीको किनारमा बाघको मूर्ति तयार पारेका हौँ ।’

बाघको ढाड व्यवस्थापन शीर्षकमा नगरपालिकाबाट विनियोजित बजेट दुई लाख रुपैयाँको सहयोगमा काम थालनी भएको हो । झन्डै तीन लाख रुपैयाँको लागतमा मूर्ति बनाउने कार्य सम्पन्न भएको छ भने यस कार्यमा यहाँका स्थानीयवासीले ३० हजार रुपैयाँ बराबरको श्रमदानसमेत गरेका छन् । अहिले यहाँको बाघ आकारको मूर्ति अवलोकनमा दैनिकजसो एक सयभन्दा बढी आउने गरेका बाघको ढाड व्यवस्थापन समितिका अध्यक्ष हुमा देवकोटा बताउछन । उनका अनुसार शनिवार र सार्वजनिक बिदाका दिन अवलोकन गर्नेको ठूलै चहलपहल देखिन्छ ।

कालीगण्डकीको किनारमा रहेको यस ढाडमा बाघ लुकेर बस्ने गरेकाले यसलाई बाघको ढाडका नामले नामकरण गरिएको ज्येष्ठ नागरिक थिरलाल ढकाल बताउछन । ‘यस ढाडमा निँयाले जातको बाघ मरेपछि वन कार्यालयका कर्मचारीको रोहबरमा म आफैँले वैदिक परम्पराअनुसार अन्त्येष्टि गरेको छु, देवीको बाहनका रूपमा लिइने बाघ बस्ने, खेल्ने ढाडलाई संरक्षण गर्दै मूर्ति बनाएर राखिएको छ’, उनले भने ।

यस क्षेत्रमा पुग्ने बाटोको पहुँचमार्ग निर्माण, कालीगण्डकी नदीको मनोरम दृश्य, शीतल हावापानी, हरियाली रुख बिरुवाको लोभलाग्दो प्राकृतिक दृश्यले दर्शकलाई लोभ्याइरहेको छ । कालीगण्डकीको तटमा अवस्थित रहेकाले पनि यो क्षेत्रले पर्यटन विकासको राम्रो सम्भावना बोकेको छ । कार्यालय, विभिन्न पेसा, व्यवसायमा आबद्ध रहने व्यक्तिलाई कामको थकानबाट मुक्ति प्राप्ति गर्नका लागि यस क्षेत्रको प्राकृतिक वातवारण उपयुक्त रहेकाले यो क्षेत्रले पर्यटन विकासमा फड्को मार्ने रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताउछन ।

कालीगण्डकी नदी सुसाउँदै गरेको गुञ्जनले हरेक कामको थकावट, तनावलाई यहाँ आएपछि मेटाउने खालको वातावरण छ । बाघको मूर्ति अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा छाएको छ । सामाजिक सञ्जालमा छाउन थालेपछि दिनप्रतिदिन अवलोकन गर्न जाने बढ्दै गएका छन् । बाघको मूर्तिस्थलसम्म पुग्न दुईतर्फी सडकको (पूर्वतर्फ पैदलमार्ग र पश्चिमतर्फ सवारी साधनमा जान सक्ने) पहुँच विस्तार भएपछि अवलोकन गर्न जाने पर्यटकलाई सजिलो भएको छ । यस क्षेत्र नजिकै रामपुर नगर गौशाला, पर्यटकीय ज्याग्दी वन, तालपोखरा, बुद्धपार्क जोडिएकाले पर्यटक भित्रिँदै गएका छन् ।

यस नदी किनारमा हिन्दू धर्मावलम्बीहरू नदी स्नान गर्ने घाट रहेकाले यस क्षेत्र धार्मिक तथा पर्यटन विकासमा अगाडि बढ्ने स्थानीयवासीले आशा व्यक्त गरेका छन् । दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुर भित्रिने वातावरण तयार पार्न पालिकाले कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ । कालीगण्डकी कोरिडोरको पहुँचमार्गले गर्दा रामपुर भित्रिन सहज भएको छ । नारायणघाट, काठमाण्डौ, पोखरा, बुटवलसँग सडक जोडिएपछि रामपुर क्षेत्रमा पछिल्लो समय पर्यटन विकासका कामले गति लिइरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img