भोजपुर | भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित साल्पा सिलिचुङ एक महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल हो। यो क्षेत्र पूर्वी पहाडको भर्जिन गन्तव्य मुन्धुम ट्रेल पदमार्गको हिस्सा हो।
किराती पुर्खा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा राखेर यहाँको इतिहास बुझाउने प्रयास गरिएको छ। स्थानीय भिडियो क्रियटरहरूले यस क्षेत्रका भिडियोहरू सामाजिक सञ्जालहरूमा प्रचार गरिरहेका छन्। नेपाललाई विश्व समुदायमा चिनाइरहेकी एकल पदयात्री सिर्जना सिज्जुले पनि भर्खरै यस मुन्धुम ट्रेल पदमार्गको यात्रा गरेकी छिन्।
यहाँ वाबु (चिण्डो) आकारको मुन्दुमी गेट, माङखिम तथा मुन्दुम सङ्ग्रहालय लगायतका संरचनाहरू निर्माणाधीन छन्। चार हजार एक सय ५५ मिटर उचाइमा रहेको सिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्गा, कुम्भकर्ण, मेरापिक हिमाल लगायत हिमश्रृङ्खला, तराईका फाँट तथा विभिन्न नदीहरू देख्न सकिन्छ।
साल्पापोखरीमा बैशाख, भदौ, कातिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्छ। यहाँ खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बूलगायत विभिन्न जिल्लाबाट तीर्थालु पुग्ने गरेका छन्। साल्पापोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरू बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरूले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास रहिआएको छ।
नेपाल सरकारको घुम्नै पर्ने सय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गमा एक करोड ९० लाख ५० हजार बढी लागतमा विभिन्न संरचनाहरू निर्माण हुने भएको छ। टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र संघ सरकारको संयुक्त लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो।
मुन्दुम पदमार्गको बृहत्तर विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रूपमा स्थापित गर्ने योजनाको साथ काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
सन् २०२५ लाई मुन्दुम पर्यटकीय वर्षका रूपमा मनाउन लागिएको छ। मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी दिए।
यो पदमार्ग शीतल हावापानी, सुन्दर दृश्यावलोकन र सांस्कृतिक अनुभवका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।