काठमाडौं | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जनाएको छ। विशेषगरी रात्रिको समयमा धेरै वर्षा हुने भएकाले बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्ने तर्फ सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका कारण विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उनले भने, “रातिको समयमा वर्षा हुने सम्भावना छ तर लगातारको वर्षाको सम्भावना भने छैन।”
महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार:
- मङ्गलबार: दिउँसो देशभर साधारणतया बदली रहने र सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना। राति भने देशभर साधारणतया बदली रहने, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना।
- बुधबार: दिउँसो देशभर साधारणतया बदली रहने, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना। त्यस्तै, राति देशभर साधारणतया बदली रहने, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना।
महाशाखाले आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिमबाट बच्न आग्रह गरेको छ। साथै, यी क्षेत्रहरूमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।