झापा | साउनको दोस्रो सातासम्ममा आइपुग्दा झापामा ९२ प्रतिशत भन्दा बढी धान रोपाइँ भएको छ ।
झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टर खेतमा धान रोपाइँ भएको छ । जुन ९२ प्रतिशत रहेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बता यो अनुपात अघिल्लो वर्षको तुलनामा यो वर्ष बर्खे धान खेतीको क्षेत्रफल घटेको हो ।
गत वर्ष ८५ हजार ७५० हेक्टरमा बर्खे धान खेती गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । यसैगरी यस वर्ष अघिल्लो वर्षको तुलनामा चैते धान खेतीको समेत क्षेत्रफल बढेको छ।
अघिल्लो वर्ष झापामा १९ हजार ८ सय हेक्टरमा चैतेधान खेती गरिएकोमा यस आर्थिक वर्षमा २० हजार हेक्टरमा चैते धान खेती गरिएको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
झापामा यस आर्थिक वर्षमा १ लाख १६ हजार मेट्रिकटन चैते धान उत्पादन गरिएको छ। झापामा यस आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रको सहयोगमा छ वटा पालिकाका एक सय पाँच बिघामा मेसिनले रोपाइँ गरिएको छ ।
कृषकलाई प्राविधिक अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भदपुरमा १० बिघा, बिर्तामोडमा ७ बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमुना धान खेती गरिएको हो ।