काठमाडौं | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको जनाइएको छ। यस कारण, देशभर आंशिकदेखि साधारणतया बदली भएको देखिएको छ भने कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै शनिबार (भदौ ८) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार (भदौ ९) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ।
सोमबार (भदौ १०) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ। राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिइएको छ।