भोजपुर । अरुण गाउँपालिका-५ याकुस्थित सित्तला ग्रामीण उन्नत कृषि समूहका कृषकहरूलाई कृषी औजार वितरण गरिएको छ। वडा कार्यालयको समन्वयमा कृषि ज्ञान केन्द्र भोजपुरले यी कृषकहरूलाई कृषि औजार उपलब्ध गराएको हो।
कृषि ज्ञान केन्द्र भोजपुरको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत व्यवसायीक उत्पादन केन्द्रको मकै खेती विकास कार्यक्रमले स्थानीय कृषकहरूलाई ८ वटा मिनी टिलर, १६ वटा कम्बाइन मिल, ५ वटा मकै छोड्ने मेसिन, १ सय २० वटा मकै सुकाउने त्रिपाल, १ वटा ब्रस कटर, ४ वटा डिजिटल काटा र ७ वटा स्प्रेयर लगायतका कृषि औजार वितरण गरिएको छ।
यसमा कृषि ज्ञान केन्द्र भोजपुरले रु १५ लाख अनुदान दिएको छ भने कृषकहरूले रु ६ लाख ४१ हजार ७ सय ८० गरी कुल रु २१ लाख ४१ हजार ७ सय ८० मा उक्त कृषि सामग्रीहरू खरिद गरिएको वडाध्यक्ष युवराज ढकालले बताए।
उक्त सामग्रीहरूको प्रयोगबाट स्थानीय कृषकले २ हजार रोपनी क्षेत्रफलमा आधुनिक कृषि गर्ने छन्। यसले वडाका अग्रज तथा कृषिप्रति उत्साहित कृषकहरूलाई प्रेरित पनि गर्नेछ।
“यस आर्थिक वर्षमा हामीले अरुण गाउँपालिका-५ याकुका कृषकहरूलाई यस्तो सहयोग गरेका छौं। यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर सञ्चालन हुनेछ,” ढकालले भने।
यसअघि गोरुको भरमा हुने परम्परागत खेती अब आधुनिक कृषि उपकरणको माध्यमबाट हुने भएकोले कृषिमा लागत कम हुनुका साथै आम्दानी बढ्ने स्थानीय कृषक हरिविष्णु पोखरेलले बताए।



