हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ। हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने तामाङ समुदायको नयाँ वर्षको अवसरमा यही माघ १६, १७ र १८ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आइतबार शुभकामना सन्देश जारी गर्दै मञ्जुश्री संवत् २८६१ डुल लो-सर्व वर्ष ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा तीन दिन सार्वजनिक बिदा दिने जानकारी दिए । उनले शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायको सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गरेका छन्।
उनका अनुसार, तीन दिनसम्म गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था तथा बैङ्क तथा वित्तीय संस्था बन्द रहने छन्। अध्यक्ष मल्लले तामाङ समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पर्वलाई खुशीपूर्वक मनाउन बिदा दिइएको स्पष्ट पारे।
साथै, उनले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र जातीय विविधता समेटिएको राक्सिराङ गाउँपालिकामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्वलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । शुभकामना सन्देशमा उनले बन्धुत्व, प्रेम र समताको भावना अभिवृद्धि गरी शान्त, समुन्नत र समृद्ध गाउँपालिका बनाउन सबैलाई प्रेरणा दिने अपेक्षा व्यक्त गरे ।



