हेटौँडा । मकवानपुरगढी गाउँपालिका–३ मरङ्गेका ३६ वर्षीय मधुसुदन दाहालले गाईपालन व्यवसायबाट वार्षिक खर्च कटाएर ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । गाउँमै योजनाबद्ध रूपमा काम गरे रोजगारी र आम्दानीका लागि विदेशिनु पर्दैन भन्ने उदाहरण उनले प्रस्तुत गरेका हुन् ।
२०७६ सालमा ९ वटा गाईबाट सुरु गरिएको उनको गाईपालन व्यवसाय अहिले ४९ वटा गाई रहेको व्यवस्थित कृषि फार्ममा रूपान्तरण भएको छ । लक्ष्मीनारायण बहुउद्देश्यीय कृषि फार्ममार्फत दाहालले दूध उत्पादनसँगै उन्नत जातका गाई र बाछी उत्पादनलाई पनि प्राथमिकता दिएका छन् । अहिले फार्ममा २४ वटा माउगाई र २५ वटा बाछी छन् । तीमध्ये १६ वटा गाईले नियमित दूध दिइरहेका छन् भने ८ वटा ब्याउने तयारीमा छन् ।
दाहालले गाईको संख्या बढाउनेभन्दा नस्ल सुधार र उत्पादन क्षमता वृद्धिलाई मुख्य प्राथमिकता दिएको बताए । उन्नत सिमेन प्रयोग गरी कृत्रिम गर्भाधानमार्फत उच्च उत्पादन दिने बाछी उत्पादनमा जोड दिइएको उनको भनाइ छ । फार्ममा रहेका ४९ गाईमध्ये ४२ वटा आफ्नै फार्ममा जन्मिएका हुन् । दुई वर्षदेखि उनले उन्नत जातका बाछी बिक्रीसमेत गर्दै आएका छन् ।
फार्ममा भारतबाट ल्याइएको होलस्टेन जातको साँढे पनि छ । उक्त साँढे अमेरिकन एबिएसको उच्च आनुवंशिक क्षमता भएको दाहालले बताए । उनको फार्ममा दैनिक ४२ लिटरसम्म दूध दिने गाईको रेकर्ड छ भने केही गाईले दैनिक ३२ लिटरसम्म दूध दिँदै आएका छन् । हाल उनले दैनिक २ सय ४० लिटर दूध गाउँकै मनकामना दुग्ध उत्पादन सहकारी संस्थामा बिक्री गर्छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म मात्रै फार्मबाट ५७ हजार लिटर दूध बिक्री भएको छ ।
२०७६ सालमा करिब साढे ११ लाख रुपैयाँ लगानी गरेर ९ वटा गाई खरिद गरी व्यवसाय सुरु गरेका दाहालले गोठ निर्माण तथा पूर्वाधार विकासमा करिब साढे १७ लाख रुपैयाँ खर्च गरेका थिए । त्यसयता फार्मबाट आएको आम्दानी पुनः व्यवसायमै लगानी गर्दै आएका छन् । अहिले उनले आधुनिक गोठ निर्माण गरिरहेका छन्, जहाँ गाईलाई नुहाएर भित्र प्रवेश गराउने, व्यवस्थित रूपमा दूध दोएर अर्कोतर्फबाट बाहिर निकाल्ने प्रणाली बनाइँदैछ ।
फार्ममा परिवारका सदस्यसहित ६ जनाले रोजगारी पाएका छन् । पशु आहारमा आत्मनिर्भर बन्न उनले चार बिघा जमिनमा नेपियर, सुपर नेपियर, रेड नेपियरलगायत घाँस लगाएका छन् । मौसमी घाँस र मकै खेतीसमेत गरिँदै आएको छ ।
अनुदानको आशाभन्दा आफ्नै उत्पादन र आम्दानीमा भर परेर व्यवसाय विस्तार गर्नु सुरक्षित हुने उनको अनुभव छ । दाहाल भन्छन्, “पैसा कमाउन विदेश जानैपर्छ भन्ने छैन । परिवारसँगै बसेर, आफ्नै गाउँमा पनि राम्रो भविष्य बनाउन सकिन्छ । गाईपालनमा सफल हुन संख्या होइन, गुणस्तर बढाउनुपर्छ ।”



