काठमाडाैँ । नेपाल आयल निगम र स्थानीय प्रशासनले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरे पनि सर्वसाधारणले अझै सास्ती व्यहोर्नुपरिरहेको छ। लामो समयदेखि ग्यासको पर्खाइमा रहेका उपभोक्ताहरू सिलिन्डरका लागि दैनिक पसल र डिलर धाउन बाध्य भएका छन्।
भक्तपुरका स्थानीय उपभोक्ताहरूले महिनौँदेखि नाम टिपाउँदा समेत ग्यास पाउन नसकेको गुनासो गरेका छन्। विशेषगरी एउटै सिलिन्डरमा निर्भर रहेका परिवारहरू ग्यास रित्तिएपछि थप मारमा परेका छन्। पैसा तिर्न तयार हुँदा पनि सहजरूपमा सिलिन्डर नपाएको उपभोक्ताको भनाइ छ।
यता भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भने जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरेका छन्। कुनै एक कम्पनीको ग्यास नपाइए उपभोक्ताले अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर समेत लिन सक्ने उनले बताए। तर, प्रशासनको यो दाबी र बजारको वास्तविक अवस्था बाझिँदा उपभोक्ता भने ग्यासकै पछि भौँतारिन बाध्य छन्।


