मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउन देउसीभैलोसहितका सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न आदेश दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनाअनुसार चाडपर्वमा हुन सक्ने अवान्छित गतिविधि रोक्न तथा शान्ति सुरक्षा कायम राख्न राति ९ बजेभित्रै मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिसक्नुपर्नेछ।
प्रशासनले तिहारमा पटाका, भुइँचम्पा, आतिसबाजीजस्ता प्रज्वलनशील पदार्थको भण्डारण, ओसारपसार र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। साथै, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र जुवातास खेल्नेजस्ता गैरकानुनी काम नगर्न सचेत गराएको छ।
बजारमा हुन सक्ने कृत्रिम अभाव, मूल्यवृद्धि तथा अखाद्य वस्तुको बिक्री रोक्न अनुगमन कडाइ गरिने र सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न वा बढी भाडा लिन नपाइने प्रशासनले जनाएको छ। वातावरण प्रदूषण रोक्न प्लास्टिकका फूलगुच्छा बिक्री वितरणमा समेत रोक लगाइएको छ।
सूचनाविपरीत कार्य गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने र कुनै शङ्कास्पद गतिविधि देखिए तुरुन्त प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।


