हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा बजारबाट करिब ६ किलोमिटर उत्तरपूर्वमा रहेको मकवानपुरगढी गाउँपालिका–४ स्थित मनकामना धार्मिक आस्था, छोटो पदयात्रा र मनोरम दृश्यावलोकनका लागि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
बिहानको स्वच्छ हावा, हरियाली डाँडाकाँडा र उचाइबाट देखिने हेटौँडा बजारको दृश्य यहाँका मुख्य आकर्षण हुन् । विशेषगरी बिहान र बेलुका हिँडडुल गर्न रुचाउनेहरूका लागि मनकामना क्षेत्र उपयुक्त गन्तव्य बनेको छ । सहरबाट नजिकै भए पनि यहाँ पुग्दा शान्त र प्राकृतिक वातावरणको अनुभव गर्न सकिन्छ ।
मनकामनाको विशेषता मन्दिर दर्शनमा मात्रै सीमित छैन । यहाँको प्राकृतिक वातावरणले पदयात्राका पारखीलाई समेत आकर्षित गरिरहेको छ । हेटौँडाको सानोपोखरा, पिप्लेकुनास्थित रुद्रेश्वर मन्दिर तथा मक्रान्चुलीबाट मनकामना पुग्ने छुट्टाछुट्टै पदयात्रा मार्ग छन् । आफ्नो समय र रुचिअनुसार यी मार्ग प्रयोग गरेर मनकामना पुग्न सकिन्छ ।
हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरका अनुसार मनकामना क्षेत्र छोटो दूरीको हाइकिङका लागि उपयुक्त गन्तव्य हो । विशेषगरी बिदाका दिन तथा बिहान–बेलुका यहाँ पदयात्रा गर्नेहरूको आकर्षण बढिरहेको उनले बताए । धार्मिक आस्था र सहज पदयात्रालाई एउटै यात्रामा समेट्न सकिनु मनकामनाको विशेषता रहेको उनको भनाइ छ ।
मनकामना पुग्ने यात्रामा अर्को आकर्षण हो, ठेकी पार्क । मन्दिर जाने मार्गको मुख्य चोकमा निर्माण गरिएको ठेकी पार्कले यस क्षेत्रको आकर्षण थपेको छ । मन्दिर परिसर र आसपासबाट देखिने हेटौँडाको दृश्यले यहाँ पुग्ने आगन्तुकलाई केही समय रोकिएर रमाउन प्रेरित गर्छ ।
पर्यटकको चहलपहल बढेसँगै स्थानीयस्तरमा व्यवसायका अवसर पनि विस्तार हुँदै गएका छन् । मनकामना मन्दिर नजिकै किराना पसल तथा खानेबस्ने सुविधासहित होटल सञ्चालन गर्दै आएका स्थानीय पर्यटन व्यवसायी रामशरण थापाका अनुसार यस क्षेत्रमा होटल, चिया तथा खाजा पसल थपिने क्रम बढेको छ । हाल आसपासमा पाँचवटा होटल रहेको उनले जानकारी दिए ।
मनकामनाको आकर्षणसँग धार्मिक इतिहास पनि जोडिएको छ । मन्दिरका पुजारी कृष्णबहादुर राना मगरका अनुसार विसं २०१५ मा गोरखाको प्रसिद्ध मनकामना मन्दिरबाट शिला ल्याएर यहाँ मन्दिर स्थापना गरिएको हो । गोरखाको मनकामनाको बहिनीका रूपमा चिनिने यस मन्दिरको स्वरूपसमेत गोरखाको मनकामना मन्दिरसँग मिल्दोजुल्दो छ ।
सुरुमा काठबाट निर्माण गरिएको मन्दिरलाई पछि स्थानीयवासीको सक्रियतामा विस्तार गरिएको थियो । स्थानीयका अनुसार विसं २०३७/३८ तिर गाउँलेहरूले मक्रान्चुलीबाट इँटा बोकेर ल्याई मन्दिर निर्माण गरेका थिए । मनले चिताएको पूरा हुने धार्मिक विश्वासका कारण हेटौँडा र आसपासका क्षेत्रबाट यहाँ नियमित दर्शनार्थी पुग्ने गरेको पुजारी मगरले बताए ।
उनका अनुसार मन्दिर बिहान ५ बजे खुल्छ । बिहानको पूजापछि केही समय बन्द हुने मन्दिर दिउँसो १ बजे पुनः खुल्ने र साँझ ६ बजेसम्म दर्शन गर्न सकिने व्यवस्था छ । शनिबार तथा विशेष धार्मिक पर्वमा दर्शनार्थीको चहलपहल बढी हुने गरेको छ ।
मनकामना क्षेत्रको अर्को सकारात्मक पक्ष यसको सहज पहुँच हो । हेटौँडाको बुद्धचोकबाट मोटरसाइकल, निजी गाडी वा स्थानीय यातायात प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । पैदल हिँड्न रुचाउनेले भने विभिन्न हाइकिङ मार्ग रोज्न सक्छन् । यसैले मनकामना लामो बिदा वा ठूलो खर्चको योजना नबनाई छोटो समयमै घुम्न सकिने गन्तव्यका रूपमा पनि परिचित हुँदै गएको छ ।
मकवानपुरका पर्यटकीय गन्तव्य पहिचान गर्ने क्रममा विसं २०७६ मा मकवानपुरगढी गाउँपालिकाका मकवानपुरगढी दरबार क्षेत्र, मनकामना मन्दिर र सहिद रुद्रबाटिका पार्कलाई प्रमुख पर्यटकीय स्थलका रूपमा समेटिएको थियो । यी गन्तव्यलाई आपसमा जोडेर धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटन प्रवर्द्धन गर्ने सम्भावना छ ।
पछिल्लो समय मन्दिर क्षेत्रको संरक्षण र पूर्वाधार विकासमा बागमती प्रदेश सरकार, मकवानपुरगढी गाउँपालिका तथा वडा कार्यालयले बजेट विनियोजन गर्दै आएका छन् । नजिकैको रुद्रबाटिका पार्कलाई व्यवस्थित गरेर पर्यटकको बसाइ लम्ब्याउने प्रयाससमेत भइरहेको छ ।
हेटौँडाबाट नजिकैको गन्तव्य खोज्ने, बिहानको समयलाई स्वस्थकर पदयात्रामा उपयोग गर्ने वा परिवार र साथीभाइसँग शान्त वातावरणमा केही समय बिताउन चाहनेहरूका लागि मनकामना राम्रो विकल्प बन्न सक्छ । मन्दिर दर्शनसँगै प्रकृति, स्थानीय संस्कृति र हेटौँडाको सुन्दर दृश्य अनुभव गर्न सकिनु यस क्षेत्रको विशेष आकर्षण हो ।



